
काठमाडाैं । कांग्रेसको राष्ट्रिय जागरण अभियानपछि गठन गर्ने भनिएको नेविसंघ तदर्थ समिति कहिले बन्ने भन्ने अझै अन्योल छ । समय सकिएपछि २८ माघमा नैनसिंह महरले राजीनामा दिएपछि कांग्रेसको विद्यार्थी भ्रातृ संस्था विघटनको अवस्थामा छ । १२औँ महाधिवेशन गर्न नसकी महरले राजीनामा दिएका थिए । उनको राजीनामाको चार महिना बित्न लागे पनि तदर्थ समिति गठन भएको छैन । ‘तदर्थ समिति गठनमा ढिलो भएको छ ।
नेताहरू जागरण अभियानमा लाग्दा पनि ढिला भएको हो,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भन्छन्, ‘सभापति सबैसँग सल्लाह गरेर मात्र समिति गठन गर्ने सुरमा हुनुहुन्छ । कसैले पनि चित्त नदुखाऊन् भन्ने उहाँको सोच हो, त्यसैले अब कहिले हुन्छ भन्न सकिन्न, चाँडै होस् भन्ने म पनि चाहन्छु ।’ कांग्रेसका प्रभावशाली नेताहरू असारको पहिलो हप्ता डेनमार्कमा हुने कार्यक्रममा सहभागी हुँदै छन् । नेविसंघबारे त्यसपछि मात्रै छलफल हुने बुझिएको छ ।
३२ वर्ष उमेरहद विवाद कायमै
तदर्थ समिति बनाउँदा ३२ वर्षमुनिको उमेरहद कायम गर्ने या नगर्ने भन्नेमा कांग्रेस नेतृत्व अझै द्विविधामा छ । महाधिवेशन गराउनका लागि ३२ वर्षमाथिको नेतृत्व ल्याउन सक्ने सुविधा पार्टी नेतृत्वलाई छ । तदर्थ समिति बनाउँदा संस्थापनभित्रैबाट कसलाई बनाउने भन्नैमै नेताहरूबीच समान मत छैन । पुरानो संस्थापनले सकेन हाम्रो पक्षलाई दिनुपर्छ भन्नेमा नेता रामचन्द्र पौडेलले पनि दबाब दिइरहेका छन् ।