काठमाडौं । विश्वकप क्रिकेट अघि भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई सहज रुपमा पराजित गरेको छ ।
सोमबार राति भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । २४० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ४४।५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो ।
अष्ट्रेलियाका लागि उस्मन खवाजाले ८९ रन बनाए । त्यस्तै, ग्लेन म्याक्श्वेलले ३६ रन बनाउँदा साउन मार्सले ३४ र मार्कुस स्टोइनिसले ३२ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ५६ र धनन्जय डे सिल्भाले ४३ रन बनाए ।
बलिङतर्फ एडम जाम्पाले दुई विकेट लिए ।
इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा यही ३० मे देखि विश्वकप क्रिकेट सुरु हुदैछ ।