विस्फोटका घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौँका विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त आजका उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्ता घटनाले आम जनतालाई त्रसित बनाएको बताएका छन् ।

‘बम विस्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढङ्गले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराएको छ ।

हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई कांग्रेसले आग्रहसमेत गरेको छ ।

कांग्रेसले घटनामा जीवन गुमाएका सबैको आत्माको चिरशान्ति कामना गर्दै सबै घाइतेहरुको सम्पूर्ण उपचार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार