
काठमाडौँ । देशभरिको सुरक्षा व्यवस्था चुस्त राख्नका लागि सबै जिल्लामा निर्देशन जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
राजधानीमा आइतबार बेलुका शृङ्खलाबद्ध बम बिस्फोट भएपछि बसेको मन्त्रालयको बैठकपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्थाका कडा पार्न निर्देशन जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् ।
आवश्यक परेको अवस्थामा सुरक्षा जनशक्ति थप माग गर्न पनि भनिएको उनले जानकारी दिए । सुरक्षा व्यवस्था कडा पारिएको र आवश्यक परेका बेला सबै किसिमको सहयोग र सहकार्यका लागि तयार रहेकाले ठुक्क भएर सवारी साधान चलाउन सबैमा आग्रह रहेको पनि उनले बताएका छन् ।
अहिलेसम्म काठमाडौँमा भएको बम बिस्फोटको घटनामापछि सातजना पक्राउ परेका छन् ।
गृह सचिव प्रेम राईले सुरक्षा अवस्था पूर्ण रुपमा आफूहरुको नियन्त्रणमा रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको दाबी गरेका छन् ।
तर देशका विभिन्न ठाउँमा बम तथा संकास्पद बस्तु भेटिने क्रम जारी छ । बन्दको प्रभाव त्यति नपरे पनि अघिल्लो दिनको तुलनामा गाडी कम चलेका छन् ।