काठमाडौं । घरेलु लिगमा दवदवा कायम गरेको बार्सिलोनाले शनिबार राति कोपा डेल रेको उपाधिका लागि भ्यालेन्सियाको सामना गर्दैछ । सेभियाको मैदानमा हुने खेलमा बार्सिलोना स्ट्राइकर लुइस सुवारेज लगायत आफ्ना पहिलो रोजाईका केही खेलाडीबिनै मैदान उत्रिँदैछ ।
उनको अनुपस्थितिमा बार्साको अग्रपंत्ति कप्तान लियोनल मेस्सी र माल्कोमले सम्हाल्नेछन् । सुवारेज र डेम्बेले घाइते भएका कारण बार्सा यो खेलमा केही समस्यामा हुनेछ। च्याम्पियन्स लिगको सेमिफाइनलमा नराम्रो हार व्यहोरेको बार्सिलोना कोपा डेल रेको उपाधि जित्दै मलम लगाउन चाहन्छ ।
बार्सिलोनाको टिममा पहिलो रोजाईका गोल रक्षक आन्द्रे टेरेस टेगेन र आर्थर पनि रहने छैनन् । काउटिन्हो र सेमेडो टिममा फर्किएपनि काउटिन्हो पहिलो रोजाईमा पर्ने संभावना कम छ। पछिल्लो समय खराव प्रदर्शन गरेको आरोप उनीमाथि लागिरहेको छ । बार्साले यो सिजन सकिएपछि उनलाई बेच्ने सम्मको चर्चा छ ।
च्याम्पियन्स लिगको हारपछि बार्सिलोनाको टिममा सन्तुलन बिग्रिएको छ । लिभरपुलसँग ३–० को अग्रता दोश्रो लेगमा गुमाएपछि बार्सिलोनाको टिममा धेरै परिवर्तनको चर्चा चलिरहेको छ । त्यतिबेलाको हारको दोष तोकेरै केही खेलाडी र प्रशिक्षकलाई दिइएको छ। जसका कारण बार्सिलोनाको टिममा केही सन्तुलन बिग्रिने देखिन्छ ।
सिजनको सुखद बिदाइका लागि बार्सिलोनासँग शनिबार राति जितको विकल्प छैन ।
उत्साहमा कीर्तिमानी मेस्सी
बार्सिलोनाका अर्जेन्टाइन कप्तान भने सर्वाधिक गोलकर्ता बन्दै ६ पटक गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् । लगातार तीन सिजन सर्वाधिक गोलकर्ता बनेका कीर्तिमानी मेस्सी भने सुवारेजको अभाव खड्किन नदिने जिम्मेवारीमा उत्साहका साथ हुनेछन् ।
मेस्सी युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा बढि गोल गर्ने खेलाडी बनेका हुन् । उनले गो सिजन बार्सिलोनाका लागि ला लिगामा ३६ गोल गरेका छन् ।