
बाजुरा । जिल्लामा छाउपडी प्रथाविरुद्धको अभियानलाई सशक्त पारिएको छ । सबै स्थानीय तहमा ३ सय भन्दा बढी छाउगोठ छन् । त्यस मध्ये २ सय भन्दा बढी छाउगोठ भत्काइएको छ । तर पनि छाउपडी प्रचलन भने पूर्ण रुपमा हट्न सकेको छैन ।
महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् । साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन् ।
छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताउनुभयो । स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाको आरोप छ । जनचेतनाको कमी, लैङ्गिक विभेद, अशिक्षाको छाउपडी ले निरन्तरता पाउँदै आएको स्थानीय सीता सुनारले बताउनुभयो ।
ओछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी रावतले बताउनुभयो । कानुनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा ३ महिनासम्म कैद, ३ तीन हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले आफूहरुले गाउँपालिकाबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गर्नुभयो । यदि यस्तो प्रथालाई प्रश्रय दिएको पाइएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष रावतले पीडित महिलालाई गाउँपालिकामा उजुरी दिन अनुरोध गदैँ गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्ने विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।