काठमाडौं । भू–सतही माध्यमबाट सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङ जिल्लाका केही भू–भागका लागि नेपाली टेलिभिजनको सहज पहुँचका लागि डडेल्धुरा अजयमेरु गाउँपालिकामा रिपिटर टावर बनाउन सर्भेक्षणको काम शुरु भएको छ ।
रिपिटर टावर निर्माण हुने स्थल अजयमेरु गाउँपालिका वडा नं १ सुईडोभ सामुदायिक वनको खर्सान पहाडमा रहेको जङ्गलको स्रोतको सर्भेक्षण गर्ने काम सम्पन्न भएको नेपाली टेलिभिजनका जिल्ला संवददाता प्रकाश भाटले वताउनु भयो ।
रिपिटर टावरको निर्माणका साथै भवन निर्माणका लागि आवश्यकपर्ने जमीनको चार किल्ला निर्धारण गरिएको छ । चार किल्लाभित्र रहेको रुखको मापन, रुखको सङ्ख्या, रुखको जातकोसमेत सर्भेक्षण गर्ने काम भएको सवडिभिजन वन कार्यालय अजयमेरुका सहायक वन अधिकृत पुष्पाञ्जली शर्माले बताउनुभयो ।
रिपिटर टावर निर्माण हुने क्षेत्रको चार किल्लाभित्र गरिएको स्रोत सर्भेक्षणको प्रतिवेदन एक साताभित्र आउने र सो पछि रिपिटर टावरको अन्य निर्माण कार्य अगाडि बढ्ने भएको छ । सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ताको भेलाले नेपाल टेलिभिजनको रिपिटर टावर निर्माणका लागि आवश्यकपर्ने जमीन दिने सहमतिसमेत जनाएका छन् । सुईडोभ सामुदायिक वनको खर्सानमा टावरका साथै दुई वटा भवनकोसमेत निर्माण हुने नेपाली टिभीले जनाएको छ ।