
काठमाडौं । काठमाडौं उपत्यकामा मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकलरस्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौँमा हुने दुई पांग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट लगाएको चालक भन्दा पछाडी बस्ने व्यक्ति घाइते भएको र मृत्युदर समेत पछाडि बस्नेको बढी भएकोले दुई मोटरसाइकलरस्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्त जानकारी दिनुभयो ।
महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको जानकारी दिएको छ । ट्राफिकले यसअघि २०५९ सालमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागू गरेको थियो । त्यसबेला माओवादी कार्यकर्ताले आक्रमणको क्रममा मोटरसाइकल प्रयोग गरेपछि पछाडि बस्नेले हेलमेट लगाउन हटाइएको थियो ।
महाशाखाले उपत्यकामा सवारी चाप ब्यबस्थित गर्दै कम गर्न मोबाइल यप प्रयोगमा ल्याउने भएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पन्तले जिआइयस प्रविधिमा आधारित यपले उपत्यकाको ट्राफिकजाम,बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताउनु भयो ।
महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नु पर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नु नपर्ने नियम बनाईन लागेको बताएको छ । फिल्डमा खटिएको ट्राफिक प्रहरीले इ चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले इ पेमेन्ट गर्न सक्ने छ ।