
काठमाडौं । म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको ३७ औँ र उपाधिका लागि महत्वपूर्ण खेलमा विजयी गोल गरेपछि नै टिममा आफ्नो समय सकिएको थाहा भएको बताएका छन् ।
यहि मे ६ मा भएको लेस्टर सिटीसँगको खेलमा कम्पनीले ‘स्पेक्टाकुलर’ गोल गर्दै टिमलाई जित दिलाएका थिए । सोही गोलका कारण म्यानचेस्टर सिटी उपाधि होडमा कायम रह्यो र अन्तिम खेलमा जितसहित लगातार दोस्रो सिजन प्रिमियर लिगको उपाधि जितेको हो ।
सिटीका कप्तान कम्पनीले आइतबार क्लब छोड्ने घोषणा गरे । ११ वर्षदेखि म्यानचेस्टर सिटीमा रहेका कम्पनी अब एन्डरलेक्ट जाने छन् खेलाडी–प्रशिक्षकका रुपमा ।
क्लबले घरेलु उपाधिका ह्याट्रिक गरेको खुशियाली मनाउनका लागि सोमबार भएको परेडमा कम्पनीले भने, ‘यो समय सही हुनेछ क्लब छोड्न ।’ सिटीले यो सिजन प्रिमियर लिग, काराबाओ (लिग कप) र एफए कपको उपाधि जितेको छ ।
कम्पनीले भनेका छन्, ‘लेस्टर सिटीसँगको खेलमा जब मैले प्रहार गरेको बलले गोल पोस्टको जाली चुम्यो, लागेको थियो यो भन्दा उत्कृष्ट केही गर्न सक्ने छैन ।’
गएको शनिबार वाट्फोर्डसँगको एफए कप फाइनल म्यानचेस्टर सिटीबाट उनको अन्तिम खेल बन्यो । ११ वर्षको अवधिमा उनले चारपटक प्रिमियर लिग, दुईपटक एफए कप र चारपटक लिग कपको उपाधि जिते ।