Logo

२३ वर्षमा ११ बच्चाकी आमा, चाहन्छिन् १ सय बच्चाको परिवार



कखरा संवाददाता


एजेन्सी । बच्चासँग घुलमिल हुने रुचाउने रुसकी २३ वर्षीया क्रिस्टिना ओज्टर्कले ११ बच्चाको पालणपोषण गरिरहेकी छन् । तर उनलाई यतिमा मात्र चित्त बुझेको छैन । उनले भविष्यमा कैयौं बच्चाकी आमा बन्ने सोच बनाएकी छन् ।

न्यूजफ्यास मिडियासँगको कुराकानीमा उनले आफूले ६ वर्षअघि पहिलो पटक छोरीको जन्म दिएको बताइन् । त्यसपछि सेरोगेसीको माध्यमबाट अन्य बच्चाको जन्म भएको उनको भनाइ छ । ती सबै बच्चाहरू क्रिस्टिना र उनका पतिकै जीनबाट जन्मिएका हुन् ।

रुसको धनाढ्य वर्गको यो जोडीले सामाजिक सञ्जालमा आफूहरुले १ सय ५ वटा बच्चा चाहेको बताएपछि उनीहरु चर्चामा आएका हुन् । उनले बच्चाको संख्याको विषयमा यकिन नभए पनि आफूहरू यतिमै नरोकिने उल्लेख गरेकी छन् ।

सेरोगेसीलाई गैरकानुनी नमानिने जर्जियाको बातुमी शहरमा बस्ने क्रिस्टिनाले महिलाहरुलाई सेरोगेसीका लागि प्रयोग गरिरहेकी छन् । त्यहाँका महिलहरुले सेरोगेसीबाट बच्चा जन्माएको ८ हजार युरो लिने गरेका छन् । यदि क्रिस्टिनाको परिवारले चाहेजस्तै १ सयवटा बच्चा जन्माउने हो भने त्यसका लागि ८ लाख युरो (११ करोड २६ लाख नेपाली रुपैयाँ) खर्च हुनेछ ।

बातुमी शहरका सेरोगेसी क्लिनिकमा गएर आफूहरूले सेरोगेसीका लागि महिलाहरु छान्ने गरेको क्रिस्टिनाले बताइन् । सेरोगेसीका लागि छानिने महिलाहरुसँग आफ्नो व्यक्तिगत सम्पर्क नहुने उनको भनाइ छ । यसको सम्पूर्ण जिम्मेवारी क्लिनिकले लिनेछ ।

प्रतिक्रिया दिनुहोस्