Logo

काउन्टर प्रस्ताव पेस भएको नेकपा सचिवालय बैठकमा कसले के भने ?



कखरा संवाददाता


१४ मंसिर, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी एकता रक्षाका लागि संयुक्त प्रस्ताव आउनुपर्ने माग नेताहरूले गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राखेका थिए ।

आफ्नो प्रतिवेदन पेस गर्दै ओलीले पार्टी एकता जोगाउनुपर्ने पक्षमा आफ्नो मत राखेका थिए । यता कार्यकारी अध्यक्ष प्रचण्डले समेत पार्टी एकताको रक्षा हुनुपर्ने धारणा राखेका छन् । त्यस्तै, वरिष्ठ नेता नेपालले प्रतिवेदनमा औँल्याइएका आधारमा पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने मत राखेका छन् ।

अध्यक्ष ओलीले आफू पार्टी एकताको विपक्षमा नरहेको र पार्टीलाई फुट्न नदिने बताएका थिए । ‘म पार्टी एकतालाई अक्षुण राख्ने पक्षमा छु, मेरो प्रतिवेदन पार्टी एकताको विपक्षमा छैन,’ ओलीले बैठकमा भनेका थिए ।

अध्यक्ष ओलीको प्रतिवेदन प्राप्त भएपछि बैठकमा अर्का अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए । बैठकमा पेस भएको प्रतिवेदन अहंकारी र दम्भी भएको उनको प्रतिक्रिया थियो । ‘यो प्रतिवेदन अहंकारी र दम्भी किसिमको छ । पार्टी विभाजनमा सहयोग पुग्ने गरी अध्यादेश ल्याउने र मान्छे अपहरण गर्ने काम तपाईंले गर्नुभएको छ । एकताविरुद्ध म होइन तपाईं नै लाग्नुभएको छ,’ बैठकमा ओलीलाई प्रचण्डको जवाफ थियो ।

वरिष्ठ नेता झलनाथ खनालले संयुक्त प्रस्ताव ल्याउनुपर्ने मत राखेका छन् । ‘दुवै प्रतिवेदन पार्टीका दस्तावेज हुन् । दुवैलाई संरक्षण गरेर एकीकृत दस्तावेज तयार गर्नुपर्छ,’ बैठकमा राखेको मतबारे उनले शिलापत्रसँग भने ।

यस्तै, उपाध्यक्ष गौतमले पनि संयुक्त प्रस्तावकै विषयमा आफ्नो धारणा राखेका छन् । पार्टी एकताको रक्षाका लागि संयुक्त प्रस्तावको खाँचो उनले औँल्याएका हुन् । ‘पार्टी एकतालाई संकटमा नपार्नका निम्ति संयुक्त प्रतिवेदनको आवश्यक छ, छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरेर प्रतिवेदन तयार गरौँ,’ गौतमले बैठकमा सुझाव दिएका थिए ।

प्रतिवेदनको विषयमा अन्य सदस्यहरूले समेत धारणा राख्न बाँकी छ । नेकपाको सचिवालय ९ सदस्यीय छ । शनिबारको बैठकमा पाँच जनाले धारणा राखेका छन् । अन्य सदस्यले धारणा राख्न बाँकी छ । अर्को बैठक मंसिर १६ गते बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्