Logo

सेयर बजारले अर्थमन्त्रीलाई पत्यायो



कखरा संवाददाता


१२ मंसिर, काठमाडौं । सेयर बजारमा चार वर्ष पछिको चक्र फर्किएको छ । बिहीबार सेयर बजारमा नयाँ कीर्तिमान कायम भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । चार वर्षअघि सबैभन्दा बढी १८८१ बिन्दुमा पुगेको सेयर बजारको रेकर्ड बिहीबार आएर तोडिएपछि लगानीकर्ता उत्साहित भएका हुन् । पहिलो रेकर्डको समयमा अर्थ मन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्रीमा नेकपा महासचिव विष्णु प्रसाद पौडेल थिए । संयोग नै मान्नुपर्छ, यसपटक अर्थात दोस्रो रेकर्ड ब्रेक हुँदाको समयमा पनि अर्थमन्त्रीको कुर्सीमा पौडेल नै छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाको कार्यकालमा ‘शिथिल’ बनेको सेयर बजारले पौडेलको आगमनसँगै विस्तारै लय समातिरहेको अवस्था छ भने बजारमा सकारात्मक प्रभाव पर्दै जाँदा उनले जस लिन पाएका छन् ।

तर, लगानीकर्ताहरु भने सेयर बजारका लागि उनले केही पनि नगरेको बताउँछन् । अन्य क्षेत्रलाई सम्बोधन गर्दैगर्दा पुँजीबजार लक्षित कुनै पनि शब्द उनीबाट नआएको लगानीकर्ता बताउँदै आएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले यो पटकको कीर्तिमानीको जस पनि उनको पोल्टामा गएकाले सेयर बजारले उनी प्रति हेर्ने दृष्टिकोण झनै सकारात्मक बन्ने बताए । तर पौडेलले सेयर बजारका लागि केही नगरेको उनको भनाइ छ । उनले भने, ‘अर्थमन्त्रीले पुँजी बजारका लागि केही नगर्दा पनि बजार बढेको छ भने उनले दुई शब्द सेयर बजारको विषयमा सकारात्मक बोलिदिए बजार अझै बढ्थ्यो होला ।’

सामान्यतयाः सेयर बजारमा कुन अर्थमन्त्रीको कालमा कस्तो थियो सेयर बजार हुन्छ भन्ने एउटा मनोवैज्ञानिक सोच पनि छ । यसै विषयलाई लिएर लगानीकर्ताले अर्थ मन्त्रीप्रतिको धारणा समेत बनाउने गर्दछन्। पहिलो रेकर्ड ब्रेकले बजारप्रति सकारात्मक छवि बनाएका अर्थमन्त्रीलाई उनी दोस्रोपटक अर्थमन्त्री हुँदा पनि सकारात्मक छवि बनाउने अवसर सेयर बजारले दिएको दिएको छ । यस मानेमा उनलाई लगानीकर्ताहरु भाग्यमानी अर्थमन्त्री मान्छन् ।

लगानीकर्ता राधा पोखरेलले भने पूर्वअर्थमन्त्री डा। यूवराज खतिवडाले नै सेयर बजारको लागि सुधार हुने नीतिगत विषय बनाइदिएर गएको र त्यसको परिणाम अहिले देखिन थालेको दवी गरिन् । अहिले बजार राम्रो हुनुमा वर्तमान अर्थमन्त्री भन्दा पनि पूर्व अर्थमन्त्री खतिवडालाईको योगदान रहेको उनको दावी छ।

उसो त सेयर बजार बढ्नुमा कोरोनाका कारण अन्य क्षेत्रमा बन्द भएको लगानीको अवसर पनि हो । लगानीको विकल्पको रुपमा कतिपयले सेयर बजारलाई लिए । अर्कोतर्फ बैंकहरुसँग प्रशस्तै पैसा भयो र लगानीकर्तालाई लगानी गर्न रकम सहजै उपलब्ध गराउन थाले । त्यसमा पनि सस्तो ब्याजदरमा पछिल्लो केही दिनयता त बैंकहरुले ‘ब्ल्याङ्क ट्रेड’ गर्न समेत ऋण प्रवाह गरिरहेका छन् । यता पहिलो त्रैमासको वित्तीय विवरणले जलविद्युत र बीमामा खासै असर नपरेको देखाएको छ । सबै पक्षमा सेयरमैत्री वातावरण गर्दै गएको परिणाम पनि हो आजको रेकर्ड ब्रेक हो । बजार अब बुलिस ट्रेण्डतर्फ उन्मुख भएको र बजार अझै बढ्ने केही लगानीकर्ताको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्