Logo

लेस्टर सिटी र आर्सनल युरोपा लिगको नकआउट चरणमा



कखरा संवाददाता


१२ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी र आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा स्पोर्टिङ्ग ब्रागासँग ३–३ गोलको बराबरी खेल्दै लेस्टरले अन्तिम ३२ मा स्थान बनाएको हो ।

लेस्टर सिटीका लाचगि बार्नेस, थोमस र जेमी भार्डीले गोल गरेका हुन् भने ब्रागाका लागि अल मुस्राती, डिजाय फेर्नान्डेस र रोड्रिग्वेज बार्बोसाले एक एक गोल गरे ।

यो बराबरीपछि लेस्टर सिटी ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहेको भने ब्रागाको ७ अंक रहेको छ । गएराति नै भएको अर्को खेलमा मोल्डेलाई ३–० ले हराएको आर्सनल पनि नकआउट चरणमा पुगेको छ ।

आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले एक एक गोल गरे । जितपछि चार खेलबाट १२ अंक जोडेको आर्सनल नकआउट चरणमा पुगेको हो ।

समूह जे अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई ४–० ले पराजित गर्दै टोटनह्यामले पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । टोटनह्यामका लागि अल्भेस मोराइजले दुई गोल गरे भने ह्यारी विन्क्स र लुकास मौउराले एक–एक गोल गरे । जितपछि टोटनह्यामको ४ खेलबाट ९ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्