Logo

म्यानपावरको अवैध धन्दामा कतारी दूतावासको संग्लनता



कखरा संवाददाता


१० मंसिर, काठमाडौं । कतार प्रहरीको रोजगारीमा कामदार पठाउने भन्दै तीन दिनयता म्यानपावर कम्पनीले पूर्वश्रम स्वीकृति नै नलिई धामाधाम अन्तर्वार्ता लिइरहेको भेटिएको छ । वैदेशिक रोजगार विभागले तीनवटा म्यानपावरमा छापा हानेसँगै पूर्वश्रम स्वीकृति नलिई कामदारसँग अन्तर्वार्ता लिइरहेको भेटिएको हो ।

विभागले पूर्वश्रम स्वीकृति नै नलिई अन्तर्वार्ता लिइरहेका डीडी ह्युमन रिसोर्स, एसओएस म्यानपावर प्रालि र लाजिम्पाटस्थित होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको हो । यी तीनै म्यानपावरले पूर्वश्रमस्वीकृति नलिई कतार प्रहरीमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको विभागले जानकारी दिएको छ ।

विभागले मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनलमामा छापा हानेको छ । छापा मार्ने क्रममा नेपालस्थित कतारी दूतावासको गाडी पनि म्यानपावर कम्पनीको परिसरमै भेटिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार दूतावासको ४५-सीडी-००९ नम्बरको गाडी होप म्यानपावरभित्र थियो । विभागको टोली पुगेको थाहा पाएपछि अन्तर्वार्ता बन्द गरेर म्यानपावर सञ्चालकले कर्मचारी र दूतावासका अधिकारीलाई कार्यालयभित्र राखेका थिए । उनीहरू विभागको टोलीलाई अटेर गर्दै बाहिर निस्किएका थिए ।

विभागको टोलीले म्यानपावरको ढोका खोल्न लाजिम्पाटस्थित इलाका प्रहरी कार्यालयको सहयोग माग्नुगरेको थियो । होप म्यानपावरमा कतारी प्रहरीका लागि अन्तर्वार्ता दिन करिब १ सय ५० जना युवा जम्मा भएका थिए ।

विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको छ । ती म्यानपावरमा ४ सयभन्दा बढी युवा अन्तर्वार्तामा लागि आएको भेटिएको थियो । यी दुवै म्यानपावरको अन्तर्वार्तामा पनि कतारस्थित नेपाली दूतावासका कर्मचारीको संलग्नता रहेको विभागले जनाएको छ ।

तीनवटा म्यानपावरले वैदेशिक रोजगार ऐनअनुसार पूर्वश्रम स्वीकृति नलिई कतार प्रहरीमा लैजाने भन्दै अन्तर्वार्ता लिएको विभागमा अनुगमन शाखा प्रमुख कुशल बरालले जानकारी दिए । छापा मारेको म्यानपावरले कतार प्रहरीमा कामदार पठाउनका लागि भिसा प्रमाणीकरण नगरेको र पूर्वश्रम स्वीकृति नलिई अवैध रूपमा अन्तर्वार्ता लिइरहेको पाइएको बरालले बताए ।

‘विभागले छापा हानेको म्यानपावरसँग अन्तर्वार्ता लिने कुनै प्रमाण छैन । ती म्यानपावरले अवैध रूपमा कतार पुलिसका कामदार पठाउनका लागि अन्तर्वार्ता लिएको पाइएको छ,’ उनले भने, ‘अवैध रूपमा अन्तर्वार्ता लिने म्यानपावरमाथि वैदेशिक रोजगार ऐनअनुसार कारबाही हुन्छ । तीनैवटा म्यानपावरका बारेमा अध्ययन गरेर कानुनी कारबाही अगाडि बढ्छ ।’ अन्तर्वार्तास्थलमा कतारी दूतावासको गाडी र कर्मचारीको संलग्नताका विषयमा परराष्ट्र मन्त्रालयमार्फत छानबिनका लागि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । म्यानपावरले दूतावासका कर्मचारीलाई राखेर अन्तर्वार्ता सञ्चालन गरिरहेको विभागको बुझाइ छ । दूतावासका कर्मचारीले कूटनीतिक मयार्दाविपरीत अन्तर्वार्तामा संलग्न भइरहेको विभागको भनाइ छ ।

एजेन्टले गरे प्रहरी र विभागको टोलीमाथि आक्रमण

म्यानपावर कम्पनीमा छापा मार्न पुगेको विभागको टोली र प्रहरीमाथि म्यानपावरका एजेन्टले आक्रमण गरेका थिए । एक जना एजेन्टले दुई जना प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेका थिए । उनले दुई जना प्रहरीलाई लछारपछार गरेर भाग्ने प्रयास गरेका थिए । उनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले थप प्रहरीको सहयोग माग्नुपरेको थियो । म्यानपावर कम्पनीका कर्मचारीले छापा मार्न गएको टोलीलाई अटेरी गर्दै कार्यालय बन्द गर्ने गरेका छन् ।

कतार रोजगारीमा कामदार पठाउन नेपालस्थित कतारी दूतावासकै संलग्नतामा म्यानपावर कम्पनीले सिण्डिकेट लगाउन खोजिरहेका छन् । गत वर्ष खोलिएको कतारी भिसा सेन्टरकै नेतृत्वमा कतार जाने कामदारमाथि १७ वटा म्यानपावरले सिण्डिकेटका लागि छनोट भएका थिए ।

एसओएस म्यानपावर, होप इन्टरनेशनल, अल थाक्वेत ओभरसिज, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, कैलाश इन्टरनेसनल म्यानपावर, अल-रायन इन्टरप्राइजेज, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्टलाई मात्रै कतारमा श्रमिक पठाउने गरी सिन्डिकेटका लागि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्