Logo

कात्तिकमा घट्यो आयात, बढ्यो निर्यात



कखरा संवाददाता


९ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु आयात भएर कात्तिकमा पुनः घटेको छ ।

कात्तिकमा अघिल्लो महिनाको तुलनामा ३ अर्ब रुपैयाँले कमी आएको हो । कात्तिक महिनामा मात्रै १ खर्ब १० अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चाडपर्वका कारण असोज महिनामा १ खर्ब १३ अर्ब रुपैयाँको विदेशी सामान आयात भए पनि कात्तिकमा केही कमी देखिएको भन्सार विभागका प्रमुख सुमन दाहालले बताए । तर, गत वर्षको कात्तिक महिनामको तुलनामा पनि ५ अर्ब रुपैयाँले कमी आएको छ ।

गत आर्थिक वर्षको कात्तिक महिनामा १ खर्ब १५ अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको थियो । गत आर्थिक वर्षमा औद्योगिक कच्चा पदार्थ बढी आयात भएकोमा चालू आर्थिक वर्षमा भने खाद्य तथा पेय पदार्थको आयात बढेको देखिएको छ ।

भन्सार विभागको तथ्यांकमध्ये चालू वर्षको ४ महिनाको अवधिमा ४ खर्ब २ अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको छ । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्ब अर्थात् १२० प्रतिशतले कमी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको थियो ।

निर्यात भने गत वर्षको चार महिनाको तुलनामा चालू वर्षमा १० प्रतिशतले वृद्धि भएको छ । चालू वर्षको १० महिनाको अवधिमा ४० अर्ब २० करोड रुपैयाँको नेपाली सामान विदेशी बजारमा गएको छ । गत वर्ष ३६ अर्ब रुपैयाँको वस्तु गएको थियो । आयात घट्ने र निर्यात बढ्ने भएपछि व्यापारघाटा भने १२.५ प्रतिशतले घटेको छ ।

गत वर्षको चार महिनाको अवधिमा ४ खर्ब १४ अर्ब रुपैयाँको व्यापारघाटा रहेकोमा चालू वर्षमा भने ३ खर्ब ६० अर्ब रुपैयाँको व्यापारघाटा देखिएको छ । नेपालले सबैभन्दा बढी आयात र निर्यात छिमेकी देश भारतसँग गरेको छ ।

यो अवधिमा भारतसँग २ खर्ब ७८ अर्बको समान आयात गरेको छ भने २६ अर्ब ४० करोडको सामान निर्यात भएको छ । निर्यात व्यापारको भारतीय बजारको हिस्सा ६५ प्रतिशत छ भने आयात व्यापारमा ६९ प्रतिशत हिस्सा छ ।

प्रतिक्रिया दिनुहोस्