Logo

सागका पदक विजेतालाई नगर परिक्रमा



कखरा संवाददाता


५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई शुक्रबार काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट ११ बजेदेखि नगरपरिक्रमा कार्यक्रम सुरु हुँदैछ । न्यूरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । परिषद्का अनुसार, खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।

उपत्यकामा निस्किने विभिन्न जुलुस र प्रदर्शनका कारण सवारी आवागमन प्रभावित हुने गरेका छन् । तर खेलाडीलाई गराउन लागिएको नागरिक अभिनन्दनका क्रममा उपत्यकाको सवारी आवागमन प्रभावित नहुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सवारी आवागमन सहज पार्न सडकमा राखिएका डिभाइर हटाइसकिएको छ । सडकको साइडबाट खेलाडीलाई नगर परिक्रमा गराउने कार्यक्रम राखिएकाले सवारी आवागमनमा कुनै असर पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्