Logo

कीर्तिमानी खेलमा स्पेनका कप्तान रामोस दुई पेनाल्टीमा चुके



कखरा संवाददाता


३० कात्तिक, काठमाडौं ।कीर्तिमानी खेलमा स्पेनका सर्जिओ रामोसले दुई पेनाल्टीमा गोल गर्न सकेनन् । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत शनिबार राति स्पेन स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकियो ।

अवे मैदानमा भएको खेलमा सहभागी भएका रामोस युरोपमा राष्ट्रिय टिमबाट सर्वाधिक खेलमा सहभागी हुने खेलाडी बने । स्पेनबाट १७७ औँ खेल खेलर जियानलुइजी बुफोनको कीर्तिमान तोडेका रामोसले दुई पेनाल्टीमा गोल गर्न सकेनन् ।

समूह ए फोर अन्तर्गतको खेल कीर्तिमानी भए पनि उनका लागि बिर्सन लायक रह्यो । ३४ वर्षका रामोसले प्रहार गरेका दुई पेनाल्टी स्वीट्जरल्याण्डका गोलरक्षक यान सोमरले रोकेका हुन् ।

रामोसले स्पेन र रियल मड्रिडबाट यसअघि २५ पटक पेनाल्टी मार्फत गोल गरेका छन् । शनिबार रातिको खेलमा तेस्रो पेनाल्टी पाएको भए पनि रामोसले नै प्रहार गर्ने स्पेनका प्रशिक्षक लुइज इनरिकले बताएका छन् ।

स्वीट्जरल्याण्डका लागि २६ औँ मिनेटमा फ्रेउलेर तथा स्पेनका लागि ८९ औँ मिनेटमा मोरेनाले गोल गरे । ७९ औँ मिनेटमा एल्वेडी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्वीड्जरल्याण्ड १० खेलाडीमा सीमित भएको थियो ।

बराबरीपछि समूहको दोस्रो स्थानमा रहेको स्पेनको ८ अंक भएको छ । पुछारमा रहेको स्वीट्जरल्याण्डको तीन अंक भएको छ ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि लिरोय सानेले एक तथा टिमो वेर्नरले दुई गोल गरे । युक्रेनका लागि रोमन यारिम्चुकले एक गोल फर्काए । ९ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ । ६ अंकसहित युक्रेन तेस्रो स्थानमा छ ।

शनिबार राति भएका अरु खेलमा साइप्रसले लग्जेम्बर्गलाई २–१ तथा माल्टाले एन्डोरालार्य ३–१ ले पराजित गरेका छन् । यस्तै सान मारिनो र जिब्रालटार तथा अजरबैजान र मोन्टेनेग्रोले गोलरहित र लात्भिया तथा फारोइ आइल्याण्डले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्