Logo

अमेरकी चुनावअघि ट्विटर विवाद, डोर्सीमाथि सोधपुछ हुनसक्ने



कखरा संवाददाता


३० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचन आउन १९ दिनमात्रै बाँकी रहेका बेला सामाजिक सञ्जाल ट्विटरलाई लिएर विवाद बढेको छ ।

रिपब्लिकन सिनेटरहरूले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका  उम्मेदवार जो बाइडनप्रति आलोचनायुक्त समाचार विवरण प्रकाशन गर्न रोक्ने निर्णयबारे ट्विटरका प्रमुख ज्याक डोर्सीमाथि सोधपुछ गर्ने बताएका छन् ।

बुधवार ट्विटरले मानिसहरूलाई न्यूयोर्क पोस्टको लेख राख्न रोकेको थियो । जसमा बाइडनको छोरा हन्टरसँगको इमेल तथा तस्बिरहरू थिए । सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्ड्से ग्राहमले आगामी साता डोर्सीमाथि सोधपुछका लागि बोलाउन मतदान गरिने बताएका छन् ।

अर्का रिपब्लिकन सिनेटर तथा पूर्व राष्ट्रपतिहरू जर्ज एच डब्लु बुसका छोरा तथा जर्ज डब्लु बुसका भाइ टेड क्रुजले ट्विटरको कदम निर्वाचनमा हस्तक्षेप भएको आरोप लगाएका छन् ।

सिनेटमा रिपब्लिकन दलका नेता मिच मक्कनेलले भने, ‘यदि तपाइँ सूचनालाई छानेर दबाउनुहुन्छ भने त्यो सेन्सरशीप हो। यो देशमा हामीले सदा विचारहरूको प्रतिस्पर्धालाई प्रोत्साहन गरेका छौँ। सबै विचार राम्रा नहोलान् तर त्यो सार्वजनिक बहसबाट काँटछाँट हुन्छ। सूचनाको पहुँचमा रोक लगाउनु हुँदैन।’

ट्विटरले भने ती रिपोर्टमा ह्याक गरिएका सामग्री तथा निजी जानकारी रहेकाले आफ्ना नियम तोडिने भएकाले ट्वीटरमा प्रकाशन गर्न रोकिएको जनाएको छ।

सो लेखमा जो बाइडनका छोरा हन्टर बाइडनले पठाएका तथा प्राप्त गरेका इमेलहरूका स्क्रीनशट छन्। जसमा हन्टर बाइडनका व्यक्तिगत फोटोहरू पनि छन् । यी तस्बिरहरु उनले ल्यापटप मर्मत गर्न दिँदा झिकिएको विश्वास गरिएको छ ।

त्यो लेखको केन्द्रमा सन् २०१५ को अप्रिलमा युक्रेनको ऊर्जा कम्पनीका एक सल्लाहकारले हन्टरलाई पठाएको इमेल रहेको छ । जसमा उनले जो बाइडनलाई भेट्न वाशिङ्गटन आउन निम्तो गरेकोमा हन्टरलाई धन्यवाद दिएका छन् ।

तर सो लेखमा साँच्चिकै भेट भयो वा भएन भन्ने केही उल्लेख गरिएको छैन ।

ट्विटरका प्रमुख डोर्सीले आफ्नो संस्थाको निर्णय राम्रोसँग बुझाउनमा भने समस्या भएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्