Logo

ध्यानाकर्षणपत्र बुझाउन पुगेका विद्यार्थी प्रहरी नियन्त्रणमा



कखरा संवाददाता


विद्यार्थीका मागसँग सम्बन्धित ध्यानाकर्षणपत्र बुझाउन पुगेका विद्यार्थी प्रहरी नियन्त्रणमा लिइएको छ । मध्पश्चिमाञ्चल विश्वविद्यालय (एमयू)का उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई नेपाल विद्यार्थी संघ मप विश्वविद्यालयका विद्यार्थी ध्यानाकर्षण बुझाउन पुगेका हुन् ।

उनीहरूले उपकुलपतिमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नेविसंघ मप विश्वविद्यालय संयोजक एवं केन्द्रीय सदस्य अनिल शाहीसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले जानकारी दिए । पक्राउ पर्नेहरूमा शाहीसहित सविन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी, राजकुमार घिमिरेलगायत रहेका छन् ।

उपकुलपतिसँगको विवाद भएपछि नियन्त्रणमा लिन लगाइएको उपकुलपति कार्यालयले जनाएको छ । उपकुलपतिको ढोका लगाएतका कार्यालय तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको उपकुलपतिको सचिवालय सदस्य उपेन्द्र बिकले जानकारी दिए ।

‘उपकुलपतिको कार्यालय तोडफोड गर्नुका साथै उपकुलपतिमाथि अभद्र व्यवहार भएका कारणले प्रहरीले नियन्त्रणमा लिएको हो,’ उनले एक विज्ञप्ति भने, ‘उपकुलपतिमाथि भौतिक आक्रमणको प्रयास भएकोमा घोर आपत्ति रहेको छ ।’

यता, नेवि संघले पक्राउ परेका आफ्ना विद्यार्थीलाई रिहाई गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्