Logo

नेपालको आर्थिक वृद्धि अर्को वर्ष पनि शून्यमै



कखरा संवाददाता


२३ असोज, काठमाडौं । नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा पनि शून्यमै रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोभिड १९ को जोखिम, तथा यसको नियन्त्रणका लागि गरिएको लकडाउन, निषेधाज्ञा लगायतले आर्थिक गतिविधि ठप्पप्रायः हुँदा आर्थिक वृद्धिदर अर्को वर्ष पनि शून्यमै रहने विश्व बैंकले जनाएको हो।

बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशत रहेकोमा २०२१ मा यो बढेर शून्य दशमलव ६ प्रतिशत रहने अनुमान गरेको हो।

यो वर्ष दक्षिण एसिया अहिलेसम्मकै चरम मन्दीमा पुगेको र महामारीको मार सबैभन्दा बढी अनौपचारिक क्षेत्रका कामदारमा परेको प्रतिवेदनमा उल्लेख छ। रोजगारी कटौती र विप्रेषण आप्रवाहमा घटनाले पनि विपन्नलाई अझ विपन्न बनाउने प्रक्षेपण गरिएको छ । यसले गर्दा लाखौं दक्षिण एसियाली नागरिक चरम गरिबीमा धकेलिने र दक्षिण एसियाको आर्थिक संकुचन दर ६ प्रतिशतबाट ७ दशमलव ७ प्रतिशतमा पुग्ने प्रक्षेपण पनि विश्व बैंकले गरेको छ ।

नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो अवस्थाले सामाजिक सुरक्षामा समेटिएका आश्रित मानिसलाई सबैभन्दा गम्भीर असर पर्ने बताएका छन्। ‘उनीहरूलाई आय आर्जन, सामाजिक सुरक्षा, रोजगारी, वित्तीय पहुँच जस्ता विषयमा शीघ्र बढावा दिनुपर्ने आवश्यकता रहेको’ उनको भनाइ छ।

नेपालमा अनौपचारिक व्यवसायमा पर्ने करिब ५० प्रतिशत उद्यम नै श्रमजीविको कमाइको मुख्य स्रोत रहेको र लकडाउनले मानिसलाई घरमै भोकै बस्ने कि जोखिम मोलेर व्यवसाय चलाउने भन्ने कठिन मोडमा पुर्‍याएको पनि प्रतिवेदनले औंल्याएको छ।

सीप विकास, उत्पादकत्व वृद्धि, पुँजी विकासका जोड दिन सरकारलाई सुझाव दिँदै विश्व बैंकले महामारीबाट जोगिन र प्रविधिको प्रयोग बढाउन र डिजिटलाइजेसनमा जोड दिनसमेत आग्रह गरेको छ। महामारीबाट थलिएको अर्थतन्त्र उकास्न १ सयभन्दा धेरै विकासशील देशलाई १ अर्ब ६० करोड अमेरिकी डलरको कोष परिचालन गरेर सघाउने विश्व बैंकले जनाएको छ। यस्तो सहयोग १५ महिनाका लागि हुनेछ।

प्रतिक्रिया दिनुहोस्