Logo

साउनमा साढे ३ प्रतिशतको मूल्य वृद्धिदर



कखरा संवाददाता


१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिदर गत वर्षभन्दा न्यून रहेको जनाएको छ । वस्तुको मूल्य गत वर्षको सोही महिनाको तुलनामा ३.४९ प्रतिशले बढे पनि वृद्धिदर भने घटेको राष्ट्र बैंकको विवरणले देखाएको हो ।

गत आर्थिक वर्षको पहिलो महिना नै मूल्य वृद्धिदर ६.९५ प्रतिशतले बढेको थियो । तर, चालू आर्थिक वर्षमा भने ३.४९ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ । २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्यवृद्धि उच्च रहेको छ ।

२०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको देखिएको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत रहेको छ । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्