Logo

व्यापारमा भारतकै निर्भरता, चीनसँग ४० र अमेरिकासँग ५३ प्रतिशत आयात घट्यो



कखरा संवाददाता


९ असोज, काठमाडौं । कोरोना महामारीका कारण मागमा आएको कमी र ढुवानीमा देखिएको समस्याले नेपालको अन्तर्राष्ट्रिय व्यापार गत चैत महिनादेखि निरन्तर कम हुँदै गएको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो दुई महिनामा आयात व्यापार २२ प्रतिशतले कमी आएको छ । निर्यात व्यापार १० प्रतिशतले बढेको कारण अन्तर्राष्ट्रिय व्यापार २२ प्रतिशतले घटेको हो ।

२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि अन्य देशसँग व्यापार विविधीकरणको मुद्दा जोडतोडका साथ उठेको थियो । यद्यपि, चालू आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्याङ्कले भने व्यापारमा भारतको एकाधिकार थप बढेको देखिएको छ । आयातमा भारतले ६६ प्रतिशत हिस्सा अगेट्दा निर्याता ७० प्रतिशत अगटेको छ । गत वर्ष भारतले आयातमा ६२ प्रतिशत र निर्यातमा ६६ प्रतिशत हिस्सा अगटेको थियो ।

दुई महिनाको अवधिमा नेपालले १ खर्ब ७८ अर्बको सामान विदेशी बजारबाट आयात गर्दा भारतसँग मात्रै १ खर्ब १९ अर्बको सामान खरिद गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा २० अर्बको सामान पठाउँदा भारतमा मात्रै १४ अर्ब रुपैयाँको सामान पठाएको छ । यो तथ्याङ्कले नेपालको अन्तर्राष्ट्रिय व्यापार करिब भारतमा नै सीमित भएको देखाएको छ ।

गत वर्ष नेपालले सबैभन्दा बढी व्यापार गरेका ५ राष्ट्रहरूमा भारतसँग जम्मा १६ प्रतिशतले आयात ह्रास आए पनि  चीनसँग ४० प्रतिशतले, इन्डोनेसियासँग ५८ प्रतिशतले, अमेरिकासँग ५३ प्रतिशतले र फ्रान्ससँग ८७ प्रतिशतले व्यापार घटेको भन्सार विभागले तथ्याङ्कबाट देखिएको छ ।

भारतसँग गत वर्षको भदौ महिनासम्मा १ खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात भएकोमा अहिले १ खर्ब १९ अर्ब रुपैयाँको आयात भएको छ । त्यस्तै, चीनसँग ४० अर्ब ५३ करोडको आयात भएकोमा २४ अर्ब ३१ करोडको आयात भएको छ ।  इन्डोनेसियासँग ४ अर्ब ६८ करोडको खरिद भएकोमा अहिले १ अर्ब ९६ करोडको खरिद भएको छ ।

त्यस्तै, संयुक्त राज्य अमेरिकासँग गत वर्ष २ महिनामा ३ अर्ब ५६ करोड रुपैयाँको सामान खरिद भएकोमा अहिले १ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको छ । त्यस्तै, गत वर्षको दुई महिनामा १ अर्ब २९ करोड रुपैयाँको सामान आयात भएकोमा अहिले १६ करोड ५९ लाख रुपैयाँको मात्रै आयात भएको छ ।

चीनसँग फेरि घट्दै व्यापार

आर्थिक वर्ष २०७१/७२ बाट उच्च गतिमा बढ्न थालेको चीनसँगको व्यापार गत वर्षबाट फेरि कम हुन थालेको छ । गत वर्षको पहिलो २ महिनाको तुलनामा आयात ४० प्रतिशतले घटेको छ भने  निर्यात ५६ प्रतिशतले घटेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि तत्कालीन सरकारले भारतसँग सबैभन्दा बढी व्यापार हुने पेट्रोलियम पदार्थसमेत चीनबाट आयात गर्ने भन्दै कार्ययोजना अघि बढाएको थियो भने केही कन्टेनर पेट्रोल चीनबाट समेत ल्याएको थियो । तर, अहिले भने चीनसँगको व्यापार घटेर ५ वर्षयताकै न्यून देखिएको छ ।

चीनसँग व्यापार घट्नुको प्रमुख कार्य औद्योगिक कच्चा पदर्थामा आएको कमी भएको भन्सार विभागका महानिर्देशक समुन दाहालले बताए । ‘चीनबाट बढी मात्रमा औद्योगिक कच्चा पदार्थ आयात हुनेगर्छ । तर, कोरोनाको कारण अहिले धेरै सामानको माग हुन सकेन । मुलुकभित्र लामो समय उद्योग बन्द भएको कारणले आयातमा धेरै कमी आएको देखिएको छ’ दाहालले भने । उनले चीनसँग जोडिएका दुई भन्सार नाका बन्द हुँदा पनि आयत निर्यातमा सामान्य असर देखिएको बताए ।

व्यापारीहरूले भने चीनबाट खरिद गरिएका सामान लामो समयदेखि नेपालतर्फ ढुवानी हुन नसेको कारण व्यापारमा कमी देखिएको बताएका छन् । अहिले नेपालको समग्र आयातमा चिनियाँ सामानको योगदान १३ प्रतिशत छ भने निर्यातमा ०.६ प्रतिशतको मात्रै योगदान देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्