Logo

अस्ट्रेलियामा मनाइयो संविधान दिवस



कखरा संवाददाता


४ असोज, काठमाडौं । वि.सं. २०७२ सालमा संविधान सभामार्फत् संविधान जारी भएको दिन असोज ३ गतेलाई प्रत्येक वर्ष संविधान तथा राष्ट्रिय दिवसका रूपमा मनाउने नेपाल सरकारको निर्णय बमोजिम अस्ट्रेलियाको क्यानबेरा र सिड्नी कार्यक्रमहरू सम्पन्न भए।

सो अवसरमा क्यानबेरास्थित नेपाली राजदूतावास कार्यालयको प्राङ्गणमा नेपाली झण्डाको झण्डोत्तोलन गरिएको थियो। कोरोना महामारीका कारण सीमित व्यक्ति र समुदायका अगुवाहरूको उपस्थितिमा राजदूत महेशराज दाहालले झण्डोत्तोलन गरेका थिए।

१. क्यानबेरामा आयोजित कार्यक्रममा राजदूत महेशराज दाहाल झण्डोत्तोलन गर्दै । २. सिड्नीस्थित महावाणिज्यदूतको कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरू

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै गत वर्ष नेपाल–अस्ट्रेलिया बीचको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भइसकेको तथा अस्ट्रेलियामा नेपालीहरूको उपस्थिति बढिरहेको सन्दर्भमा दुई देशका बीच रहेको व्यापार, लगानी तथा दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउँदै अझ मूर्त रूप लिने आशा व्यक्त गरे।

कार्यक्रममा बोल्दै राजदूत दाहालले भने, ‘संसारको जुनसुकै कुनामा रहेका नेपालीले पनि ‘सुखी नेपाली समृद्ध नेपाल’को अवधारणालाई साथ र सहयोग दिनुपर्ने आजको आवश्यकता छ । अब नेपाललाई समृद्धिको बाटोमा बढाउने काममा एकदमै सक्रियताका साथ लागौं । त्यसका लागि अस्ट्रेलियामा रहेका नेपालीहरूले देशलाई समृद्ध बनाउनको लागि आफ्नो तर्फबाट पुर्‍याउनुभएको सहयोगका लागि धेरै धेरै धन्यवाद छ ।’

उक्त अवसरमा राजदूत महेशराज दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए।

त्यसैगरी संविधान दिवसकै अवसरमा न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयले सिड्नीमा एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा न्यूसाउथवेल्स राज्यका सांसदहरूले संविधान दिवसको शुभकामना दिएका थिए। कार्यक्रममा न्यूसाउथवेल्सका स्थानीय नेताहरू सहभागी थिए भने केहीले जुममार्फत् पनि सहभागिता जनाएका थिए।

कार्यक्रममा विशेष अतिथि लेवर पार्टीकी सांसद मिसेल रोल्याण्डले संविधान दिवसका अवसरमा शुभकामना दिँदै अस्ट्रेलियामा नेपालीहरूको बलियो उपस्थिति रहेको बताइन्। अतिथि सांसद एन्ड्रयु ब्रागले संविधान दिवसको शुभकामना दिँदै अस्ट्रेलियामा रहेका नेपालीहरू पनि विस्तारै अस्ट्रेलियाको मूलधारको राजनीतिमा पहुँच राख्न सफल भएको बताए।

त्यसैगरी अतिथि तथा न्यू साउथ वेल्स राज्य प्रमुख प्रतिपक्षी दलकी नेतृ जोडी म्याकेले कोरोना महामारीका वेलामा नेपाली समुदायले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरिन्।

एनआरएनए आइसिसीका उपाध्यक्ष मन केसीले यो संविधान लामो संघर्ष र नेपाली जनचाहनाको उपज भएको बताउँदै अस्ट्रेलिका नेताहरूलाई गत चुनावअघि समुदायिक भवन बनाउनका लागि गरेको सहयोगको वाचा पूरा गर्न स्मरण समेत गराए।

कार्यक्रम संयोजकका तर्फबाट बोल्दै न्यूसाउथवेल्सका लागि नेपाली महावाणिज्यटूत दिपक खड्काले संविधान सभाबाट लिखित यो पहिलो संविधान भएकोले यसले सम्पूर्ण नेपालीको भावना समेटेको र अधिकार सुरक्षित गरेको बताए।

कार्यक्रममा एनआरएनए अभियन्ता ईन्द्रा वन, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रमेश पाण्डे, एनआरएनए ओसेनिया महिला संयोजक जानकी पौडेल, अधिवक्ता डा. शमशेर सिंह थापा, भवानी ओली, लगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूले जनताको संविधान जारी भएको दिनलाई सबैले अपनत्व महसुस गरेर खुशीसाथ मनाउने वातावरण बन्नुपर्ने बताएका थिए। कार्यक्रम एनआरएनए ओसेनिया संयोजक होम पाण्डेले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्