Logo

जनकपुरधाममा पहिलो पटक संविधान दिवस मनाइयाे



कखरा संवाददाता


४ असोज, काठमाडौं । जनकपुरधाममा पहिलो पटक संविधान दिवस मनाइएको छ। शनिबार पाँचौ संविधान दिवसको अवसरमा जनकपुरधाममा युवाहरुले पहिलो पटक सार्वजनिक रुपमा संविधान दिवस मनाएका छन्।

मधेश आन्दोलनको क्रममा अग्रपंत्तिमा रहेका युवाहरुले नै मधेसवादी दलको रवैयाप्रति असन्तुष्टि जनाउँदै संविधान दिवस मनाएका छन्। जनकपुरधामको जानकी चोकमा युवा अभियन्ता शुशील कर्णको नेतृत्वमा युवाहरुले संविधान जारी भए पश्चात पहिलो पटक संविधान दिवस मनाएका हुन्।

तस्बिर सौजन्य – राजा झा/जनकपुर

कर्णले भ्रष्ट, भ्रष्टाचार, नौटंकी र लाशको राजनीतिविरुद्ध आफूहरूले संविधान दिवस मनाएको बताए। जुन संविधानलाई टेकेर मधेशवादी दलले अहिले सेवा सुविधा लिइरहेका छन्, त्यसकै विरोधमा तिनीहरु कालो दिवस मनाइरहेकोले आफूहरुले संविधान दिवस मनाएको कर्णले बताए।

उनले भने, ‘संविधानको धाराहरुमा त्रुटि छ, त्यसलाई सच्याउनु पर्छ तर संविधानलाई टेकेर सत्तामा पनि आउने र विरोध पनि गर्ने मधेशवादी दलको द्वैध चरित्र रहेकोले हामीले संविधान दिवस मनाएका छौँ।’ संविधान दिवसको अवसरमा उनीहरुले दीप प्रज्वलन गरेका छन्।

त्यस्तै मधेशवादी दलले आजै कालो दिवस मनाएका छन्। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांसद परमेश्वर साह, जनकपुरधामकी उपप्रमुख रिता कुमारी मिश्र लगायत जसपाका नेता तथा कार्यकर्ताहरुले संविधान दिवसको अवसरमा कालो दिवस मनाएका छन्।

प्रतिक्रिया दिनुहोस्