Logo

पुनर्नियुक्तिको माग गर्दै प्रदर्शन नगर्न कुलमानको अनुरोध



कखरा संवाददाता


३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै प्रदर्शन नगर्न अनुरोध गरेका छन् ।

शनिबार एक विज्ञप्ति निकालेर घिसिङले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने भन्दै घिसिङले सरकारले यसअघि दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी गरेको उल्लेख गरे ।

घिसिङ विज्ञप्तिमा भनेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

घिसिङको पर्नुनियुक्तिको माग राख्दै केहीदिनदेखि काठमाडौं उपत्यका र देशभरका शहरहरुमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा केही कुलमान समर्थक घाइते समेत भएका छन् । प्रहरीले कुलमानको समर्थनमा भएको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्