Logo

जिन्दगीलाई एक पटक सुन्ने कि ?



कखरा संवाददाता


२८ भदौ, एजेन्सी । जिन्दगी सुख र दुःखको एउटा गज्जबको प्याकेज हो । यही प्याकेजलाई फुकाउँदा फुकाउँदै हाम्रो उमेर सकिन्छ। हरेक मानिस सुखी हुन चाहन्छ ।

हरेकलाई आफू खुशी हुने अधिकार पनि छ । अरुलाई असर नपारीकन जसलाई पनि आफूलाई सुखी राख्ने हक हुन्छ । तर, सुखी हुने कसरी त्यसको सूत्र नजान्दा मानिस दुःखी छ ।

ऊ खोज्छ सुख, तर भेट्छ दुःख ! ‘प्याराडक्स’ छ जिन्दगी, विरोधाभासपूर्ण छ गज्जबको । सुखका निम्ति गरिएका भनिएका कतिपय प्रयास मिथ्या भएका छन् । किन हुन्छ यस्तो ? कहाँ छ सुख ?

मानिसको जन्मदेखि अन्तिम अवस्थासम्म नै सङ्घर्षले छाड्दैन । त्यसका रुपमात्र फरकफरक हुन्छन् । हामीलाई लाग्छ, यस्तो मलाई मात्र भएको छ । यो दुनियाँले मलाई चिनेन, मेरा मर्का बुझेन भन्ने मानिस हाम्रा वरिपरि प्रशस्तै हुन्छन् । भर्खरै एउटा सङ्घर्षलाई जितेँ, फेरि अर्को ! मान्नुस्, मानिसको जिन्दगी नै एउटा निरन्तर सङ्घर्ष हो ।

एउटा कुरा निश्चित के छ भने, मानिसलाई प्रशस्त पैसाले सुख दिँदैन । कसैसँग खुबै पैसा छ भने, ऊ कम खुसी छ भन्ने बुझे हुन्छ । धेरै पैसासँगै अधिक जिम्मेवारी पनि साथमै जोडिएर आउँछ ।

अधिकांश पैसावाला मानिस आफूसँग भएको रकम लुकाउन चाहन्छन् । लुकाउने उपाय खोज्दाखोज्दै ती दुःखी हुन पुग्छन् । तीमध्ये कतिपयले सरकारलाई तिनुपर्ने कर पनि तिरिरहेका हुँदैनन्, छल्ने प्रयासमा हुन्छन् ।

मसँग यति पैसा छ, अब यति वर्ष वा यति अवधिमा यसलाई डबल पार्छु । यी सारा क्रियाकलापले हाम्रो सुख खोसिरहेका हुन्छन् । यसको अर्थ पैसा अनावश्यक वस्तुचाहिँ होइन । यसको सीमा भने आफैँले निर्धारण गर्नु पर्छ।

कतिपय धनी मानिसले दानधर्म खुबै गरिरहेको देखिन्छ । उनीहरू गरीबलाई सहयोग गरेर वा सामाजिक काम गरेर सुखी हुने प्रयास गर्छन् । गरीबले आफ्ना लागि भगवान्‌सँग प्रार्थना गरिदेओस् र आफ्नो अप्ठेरो भगाइदेओस् भन्ने चाहना पनि तिनको हुन्छ ।

यसबाट के स्पष्ट हुन्छ भने गरीबको करिब भगवान् हुन्छन् । जसको करिब भगवान् हुन्छन्, ऊ सुखी त हुनै नै भयो ! गरीबहरु प्रायः एक्लै हुन्छन्, तर उनीहरुको नजिक भगवान् हुन्छन् ।

धनीहरु प्रायः एक्लै हुँदैनन्, उनीहरुका अङ्गरक्षक त सुत्ने कोठाको बाहिरपट्टि चौबीसै घण्टा उभिइरहेका हुन्छन् । कहीँ पार्कमा आराम गर्न जाँदा पनि वरिपरि मानिस झुम्मिएका हुन्छन् । जब मानिस कहिल्यै एक्लै हुन पाउँदैन, तब ऊ कसरी सुखी हुन सक्ला ? एक्लोपन खराब हुँदैन, त्यसबखत मानिस भगवान् सम्झन्छ र सुखी हुन्छ ।

हामी देखिरहेका छौं, यो समय षड्यन्त्र, विखण्डन, मारकाट, उच्च विभेदजस्ता कुराले प्रश्रय पाइरहेका छन् । सत्य र न्यायको साथ दिने मानिस प्रायः एक्लो हुन पुगेको छ । तिनले कष्ट झेल्नु परिरहेको छ । तर, यदि हामीले सत्य र न्यायको साथ दिएनौं भने अन्याय र असत्य हाम्रो पछाडि लाग्न थाल्छ ।

हाम्रो जीवनमा असत्य र अन्यायले कतै न कतैबाट प्रवेश गरिहाल्छ । त्यसकारण पनि मानिसले सत्य र न्यायलाई साथ दिनु पर्छ । यसले हामीलाई अतुलनीय सुख दिन्छ ।

कुनै घटना वा परिस्थितिवस कसैको मन दुःखाएको छ भने त्यसले असल मानिसलाई ठूलो तनाव दिन्छ । अञ्जानमा अरुको मन दुःखाएको छ भने त पीडा हुन्छ, जानेरबुझेर नै अरुलाई पीडा दिएको रहेछ भने हाम्रो जिन्दगी निकै दुःखद बन्न पुग्छ ।

वास्तवमा अरुको मन दुःखाएर मानिस कहिल्यै आफू सुखी हुन सक्दैन । सत्य र न्यायको पक्षमा उभिने मानिसले कहिल्यै जानेर अरुको मन दुःखाउँदैन ।

प्रतिक्रिया दिनुहोस्