Logo

चिनियाँ एप्स बन्द गर्दा क–कसले उठाए फाइदा ?



कखरा संवाददाता


१३ साउन, काठमाडौं । टिकटकजस्ता चिनियाँ एप्समाथि भारतमा लगाइएको प्रतिबन्धको फाइदा अमेरिकी एप्सहरूले उठाएका छन् ।

भारतमा टिकटकमा लगाइएको प्रतिबन्धका कारण फेसबुक, युट्युब र इन्स्टाग्रामजस्ता अमेरिकी सामाजिक सञ्जालले ठूलो नाफा कमाएका हुन् ।

३० जूनमा भारत सरकारले ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि इन्स्टाग्राममा हरेक दिन बिताउने समय औसतमा दुई गुणा (२.३) भन्दा बढीले बढोत्तरी भएको छ । यसका साथै सामाजिक सञ्जाल फेसबुकमा बिताउने समयमा पनि वृद्धि भएको छ ।

रमाइलो कुरा त के छ भने सामाजिक सञ्जाल र भिडियो एप्समा भारतीयले बिताउने समयमा यो निर्णयले खास असर पारेको छैन ।

यसबाट प्रयोगकर्ताले चिनियाँ एप्सको विकल्पमा अन्य एप्समा समय बिताएको पाइएको छ । अनलाइन इनसाइट्स मेजरमेन्ट कम्पनी (कान्तर) को एक अध्ययनमा यस्तो पत्ता लागेको हो ।

सो कम्पनीले चिनियाँ एप्समा प्रतिबन्ध लगाएपछि अनलाईन प्रयोगकर्ताको ‘डिजिटल बिह्याबियर प्याटर्न’ को विवरण दिएको छ ।

सो अध्ययनमा टिकटकजस्ता लोकप्रिय चिनियाँ एप्सको लोकप्रियता र तीव्र रफ्तारको वृद्धिका कारण अमेरिकी इन्टरनेट कम्पनीको बजारमा रहेको हिस्सेदारीमा भएको नोक्सानी पुनः हासिल गरेको पाइएको छ ।

विश्लेषकका अनुसार, ‘प्रयोगकर्ताले यी चिनियाँ प्लेटफर्ममा प्रयोगकर्ताले हरेक साता घन्टौँ समय बिताइरहेका थिए । यी सामाजिक सञ्जालमा रोक लगाइएपछि मानिसहरूले अनलाइनमा बिताउने समयमा कमी आउने विश्वास गरिएको थियो ।

यद्यपि अनलाइनमा मानिसहरूले बिताउने समयमा औसत ६ प्रतिशत मात्रै कमी देखिएको छ । पहिले मानिसहरूले ६ घन्टा ३७ मिनेट औसतमा अनलाइनमा बिताउने गरेकोमा अहिले ६ घन्टा १५ मिनेट औसत समय अनलाइनमा बितिरहेको छ ।’

यसबाट प्रयोगकर्ताले विश्वास गरिएको भन्दा केही तीव्र प्रतिस्पर्धी प्लेटफर्ममा समय बिताइरहेका छन् । इन्स्टाग्राम र फेसबुकले यसको तत्काल फाइदा लिएका छन् ।

इन्स्टाग्राममा हरेक दिन बिताउने औसत समय १६ मिनेटबाट बढेर ३७ मिनेट भएको छ । यस्तै, फेसबुकमा बिताउने समय ३० मिनेटबाट बढेर ४० मिनेट भएको छ ।

अध्ययनअनुसार भिडियो प्लेटफर्म युट्युबको दबदबा बढेको छ । विश्लेषणअनुसार भारतमा युट्युबमा मानिसहरूले बिताउने समय २५ प्रतिशतले बढेको छ । युट्युबमा बिताउने समय ५७ मिनेटबाट बढेर ७० मिनेट भएको छ ।

प्रतिक्रिया दिनुहोस्