Logo

रियललाई ३४ औँ ला लिगाको उपाधि



कखरा संवाददाता


२ साउन, काठमाडौं । भिल्लेरियाललाई २–१ गोलअन्तरले पराजित गर्दै रियल म्याड्रिडले एक खेल बाँकी छँदा नै स्पेनिस ला लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

खेलको २९ औँ मिनेटमा करिम बेन्जेमाले रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा विवादास्पद पेनाल्टीबाट रियलको अग्रता दोब्बर बनाए । सर्जियो रामोशले पेनाल्टीबाट बेन्जेमालाई पास दिएपछि पेनाल्टीलाई पुनः प्रहार गर्न लगाइएको थियो । जसलाई बेन्जेमाले गोलमा परिणत गरेका थिए ।

खेलको अन्त्यतिर भिल्लेरियालका लागि भिन्सेटे इबोराले एक गोल फर्काए पनि रियललाई ३४ औँ लिग उपाधि जित्नबाट रोक्न सकेन । गत जुनमा ला लिगा पुनः सुरुवात गरेपछि जिनेदिन जिदानको टोलीले सबै १० खेल जितेको छ ।

‘यो अरुभन्दा विशेष छ । किनभने ला लिगा जित्नका लागि ठूलो मिहिनेत चाहिन्छ,’ रियल म्याड्रिडका म्यानेजरले भने । सन् २०१७ पछि रियलको यो पहिलो उपाधि हो । यो दशक रियलले ला लिगाभन्दा च्याम्प्यिन्स लिगको उपाधि बढी जितेको छ ।

पछिल्लो ९ सिजनमा रियलको यो मात्र तेस्रो लिग उपाधि हो । जिदानको पहिलो कार्यकालमा रियलले कीर्तिमानी लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्