Logo

हालसम्म विदेशमा २९ हजार ६२६ नेपाली कोरोना संक्रमित



कखरा संवाददाता


सिड्नी – गैरआवासीय नेपाली संघ ‘कोभिड–१९’ उच्चस्तरीय समितिले गत शनिबार जुलाई १० तारिखसम्म विश्वभर २९ हजार ६ सय २४ जना संक्रमितमध्ये रहेको तथ्याङ्क सार्वजनिक गरेको छ भने तीमध्ये २७ हजार ३ सय ६२ जना नेपालीहरू संक्रमणमुक्त भइसकेका छन् । संक्रमणमुक्त हुनेको यो सङ्ख्या करिब ९२ प्रतिशतको हाराहारीमा हुन आउँछ ।

गैरआवासीय नेपाली संघ अन्तरगतकाे स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अस्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशहरूमा रहेका नेपालीहरूमा गत साता कोरोना संक्रमण दर सामान्य रूपमा बृद्धि भएको छ । त्यसैगरी नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या १ सय ८१ पुगेको छ ।

२६ हजार ३ सय ९६ जना नेपालीको उद्धार

नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिसकिएको पनि गैरअवासीय नेपाली संघले जनाएको छ । विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत् उनीहरुको उद्दार गरिएको हो ।

गत जेठको मध्यदेखि शुरू भएको उद्धार उडानमार्फत् हालसम्म संयुक्त अरब इमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार गरिएको छ । त्यसैगरी कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी ५ हजार २ सय ४३, साउदी अरबबाट ४ हजार ३०, मलेसियाबाट ३ हजार ५३ र कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिसकिएको संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

त्यसैगरी अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ४ सय ८३, म्यानमारबाट २६, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ४ सय ७६, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, श्रीलंकाबाट ५, सिंगापुरबाट १ सय ४६, हङकङबाट ८९, बहराइनबाट ५ सय ६७, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७ र चीनबाट १ सय ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ ।

१ सय ५७ शव ल्याइयो

यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ ।

त्यसैगरी विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको तथ्याङ्क पनि गैरआवासीय नेपाली संघले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्