Logo

‘ह्वाट द फ्लप’ शोको प्रस्तुतिको विषयमा सन्दीपले मागे माफी



कखरा संवाददाता


२७ असार, काठमाडौं । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’का संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्रीविरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् ।

बिहिबार साँझ प्रसार भएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विशुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मागेका छन् ।

‘कार्यक्रमलाई यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ’ सन्दीपले कार्यक्रममा भनेका छन् ‘तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ‘ह्वाट द फ्लप’ तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’

‘मैले कार्यक्रममा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाउदा म पनि मर्माहत भएको छु’ सन्दीपले कार्यक्रममा अगाडि भनेका छन् ‘त्यो मेरो आफ्नो समुदाय हो । मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइ सकेपछि मेरो मन दुःख्नु स्वभाविक हो ।’

कार्यक्रममार्फत कुनै्र पनि समुदायको मन दुखाउने उदेश्य कहिलै नरहेको बताएका सन्दीपले भने ‘यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ‘ह्वाट द फ्लप’ टिम र कान्तिपुर टेलिभिजन माफी माग्न चाहान्छ ।’

केही दिन अगाडि कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको थियो । उक्त उजुरीमा कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री, कार्यक्रमका ब्यावस्थापक र प्रोडुसर विशाल घोषलाई कानूनी कारवाहीको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्