Logo

विभिन्न जिल्लामा पहिरो : ७ जनाको मृत्यु, ७ बेपत्ता



कखरा संवाददाता


२६ असार, काठमाडौं । लमजुङ, कास्की र म्याग्दीमा पहिरोका कारण ७ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् । अविरल वर्षाका कारण गए राति पोखराका विभिन्न स्थानमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । अन्य छ जनालाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी सुवास हमालले जानकारी दिनुभयो । थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिनुभयोे । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।

यस्तै, लमजुङमा पहिरोले घर पुरिँदा गएराति एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका वडा नम्बर ७ सातबीसेमा गएराति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पु¥याएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिनुभयो । घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको थापाले जानकारी दिनुभयो । उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान पहिरो जाँदा सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताउनुभयो ।

माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उहाँले बताउनुभयो । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको हो । घरका मानिसले भागेर ज्यान जोगाएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्