Logo

प्रधानमन्त्रीबारे भारतीय सञ्चारमाध्यमको ‘बकवास’: नेताहरु



कखरा संवाददाता


२६ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका सम्बन्धमा अनर्गल प्रचार गरेको भन्दै त्यसको गम्भीर निन्दा गरेका छन् । उनले ट्वीट गरेर सरकार र प्रधानमन्त्रीका बारेमा गरिरहेको ‘बकवास’ ले सीमा नाघेको भन्दै तत्काल सो कार्य बन्द गर्न भनेका छन् ।

उनले लेखेका छन्, ‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमाा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौँ । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

यस्तै पर्यटन मन्त्री समेत रहेका नेकपाका नेता योगेश भट्टराईले पनि ट्वीट गरेर विरोध जनाएका छन् । उनले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ पूर्विय सभ्यताको उपहास भइरहेको छ । उनीहरु आफैलाई सरेआम नङ्ग्याइरहेका छन् । दया लाग्छ उनीहरुको चिन्तनप्रति ।’

भारतीय सञ्चारमाध्यमले सत्तासिन नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० भित्रको संकट र चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई लिएर विभिन्न खबर प्रशारण गरिरहेका छन् । कतिपय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली र राजदूत यान्छीको नाम जोडेर समेत खबर बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्