Logo

बाढीले १५ घर बगायाे, १९ वेपत्ता, दुईको शव भेटियाे (तीन तस्वीर)



कखरा संवाददाता


२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो सो स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। टेलिफोन सम्पर्कमा उनले भने, ‘गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ ।’ बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताए ।

‘मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु’, प्रहरी निरीक्षक न्यौपानेले भने । बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको, केहीको शव समेत फेला परेको र ड्याम साइटवाट माथि जान सक्ने अवस्था नरहेको स्थानीय पत्रकार दिनेश थापाले जानकारी र्दिए ।

अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । तस्वीर सौजन्य :– अनन्त प्रकाश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्