Logo

“अनलाइन कक्षाका बारेमा गलत प्रचार नगरौँ!”



कखरा संवाददाता


-सरिष्मा मिश्र
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड – १९ को महामारीले विश्वलाई नै तहसनहस बनाएको छ। हामी सबै यसबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छौँ। लामो समयसम्म भएको लकडाउनका कारणले शिक्षण संस्था, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसायलगायत सबै क्षेत्रमा गम्भीर असर परेको छ। सबै क्षेत्रमा निकै ठूलो हानि पुगेको छ। मानिसको दैनिक जीवन नै निकै कष्टकर बनेको छ।

यस्तो कठिन र विषम परिस्थितिमा तमाम विद्यार्थीहरू शिक्षाको ज्योतिबाट वञ्चित हुनुपरेको छ। तर म भने यस अर्थमा आफूलाई भाग्यमानी ठान्दछु कि देशका सबै शिक्षण संस्थाहरू बन्द हुँदासमेत हाम्रो विद्यालयले हामीलाई नियमित रुपमा अनलाइन कक्षामार्फत सिकाइरहेको छ। अनलाइन कक्षाका बारेमा विभिन्न टीकाटिप्पणीहरू भएका छन्। कतै यसको प्रशंसा गरेको देखिन्छ भने कतै आलोचना! यस्तो कठिन र विषम परिस्थितिमा पनि अनलाइनमार्फत सिकाउन खोज्नु पक्कै पनि गलत कुरा होइन। विद्यालयले गरेको यस कार्यबाट हामी विद्यार्थीलगायत सम्पूर्ण अभिभावकहरू लाभान्वित हुनुका साथै खुसी छौँ। अहिले विशेष गरेर सामाजिक सञ्जाल र मिडियाहरूमा टिप्पणी र आलोचना गर्न थालिएको छ कि यो केवल निजी विद्यालयहरूले ‘फिस’ उठाउनका लागि गरेको नाटक हो र यसबाट उपलब्धिपूर्ण सिकाइ हुँदैन भनेर। तर मेरो आफ्नो अनुभवमा नियमित कक्षा र अनलाइन कक्षामा कुनै अन्तर पाएकी छैन। आदरणीय गुरु-गुरुमाहरूले झन् बढी मिहिनेत गरेर पढाउनुभएको छ। स्लाइड र भिडियोबाट सिकाउनुभएको छ। पाठ्यपुस्तकमा मात्र सीमित नरहेर व्यवहारिक र जीवन जगतका कुरा सिकाउनुभएको छ। घोकेर होइन कि गरेर र खोजेर सिक्न प्रेरित गरिरहनुभएको छ। स्लाइड र विभिन्न प्रकारका लिखित सामग्रीहरू हेरेर पढ्न र सिक्न पाउँदा हाम्रो सिकाइ अझ बढी प्रभावकारी भएको महसुस भएको छ। त्यसैले अनलाइन कक्षाको विरोध गर्नुभन्दा यस्तो विकराल अवस्थामा पनि सिकाइ क्रियाकलापलाई निरन्तरता दिनु प्रशंसनीय कार्य हो।

म हरेक दिन बिहान ५ बजे उठ्छु। आफ्नो नित्यकर्म सकेर ७ बजेदेखि सुरु हुने कक्षाका लागि तयार हुन्छु। विद्यालयले हामीलाई शनिबारबाहेक हरेक दिन बिहान ७ बजेदेखि १२ बजेसम्म नियमित कक्षाहरू सञ्चालन गर्दछ। हामी भिडियोमार्फत प्रत्यक्ष हेराहेर गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन्छौँ। गुरु-गुरुमाहरूले उदाहरणसहित हरेक विषयवस्तुलाई सरल तरिकाले बुझाउनुहुन्छ। हामी पनि प्रश्न र उत्तरका माध्यमबाट सिक्दै जान्छौँ। नोट बनाउँछौँ। नजानेका र नबुझेका कुराहरूलाई प्रत्यक्ष रुपमा सोधेर प्रष्ट हुन्छौँ। गुरु-गुरुमाहरूले गृहकार्य दिनुहुन्छ। हामीले नियमित रुपमा गृहकार्य गर्छौँ। हामीले गरेको गृहकार्य मेलमार्फत सम्बन्धित विषयका विषय शिक्षकहरूलाई पठाउँछौँ। उहाँहरूले परीक्षण गरेर कहाँ गल्ती – कमजोरी छन् तिनलाई मेलमार्फत नै औँल्याइदिनुहुन्छ। अनलाइन कक्षाका कारणले गर्दा हामी प्रविधिसँग झन् बढी परिचित भएको महसुस गरेका छौँ। पहिले-पहिले घरमा बसेर नै अनलाइन कक्षाबाट पढ्न सकिन्छ भन्ने कुरा सुन्दा अनौठो लाग्थ्यो तर आज आफैँले प्रत्यक्ष अनुभव गर्न पाउँदा औधी खुसी लागेको छ।

हामी सबैले अनलाइन कक्षाका बारेमा भएका गलत प्रचारका बारेमा राम्रोसँग बुझ्नु जरुरी छ। प्रत्यक्ष अनुभव गरेका विद्यार्थी र अभिभावकले मिडिया र सरकारलाई बुझाउन जरुरी छ। यस्तो सङ्कटका समयमा पैसा मात्र सबथोक नभई सिक्न पाउनु पनि महत्त्वपूर्ण कुरा हो भनेर बुझ्न र बुझाउन जरुरी छ। हामीले २१ औँ शताब्दीको सूचना र प्रविधियुक्त सिकाइलाई आत्मसात् गर्न जरुरी छ। विद्यालयले पनि अभिभावकलाई परेको आर्थिक सङ्कट र कष्टपूर्ण दैनिकीलाई ख्याल गरेर यसलाई कसरी समायोजन गर्ने र शिक्षक कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझेर पढाएअनुसारको तलब भत्ता प्रदान गर्ने विषयमा सबैको ध्यान पुग्नुपर्दछ। नियमित कक्षा र अनलाइन कक्षामा कुनै अन्तर नभएपछि यसका बारेमा अनावश्यक आलोचना मात्र गर्दा शिक्षकहरूलाई नकारात्मक असर पर्न सक्ने भएकाले यस विषयमा गहन रुपमा छलफल गर्नुपर्ने देखिन्छ।

त्यसैले कठिन परिस्थितिलाई बुझेर हामीले अनलाइन कक्षाका माध्यमबाट अधिकतम लाभ लिन सक्नुपर्दछ। यसले हामी विद्यार्थीलाई धेरै ठूलो टेवा पुर्‍याएको हुँदा मेरो विचारमा अनलाइन कक्षा निकै उपयोगी र उपयुक्त छ र यसलाई परिस्थिति सहज नहुँदासम्म निरन्तरता दिनुपर्दछ।

(यस लेखको लेखक मिश्र भ्याली पब्लिक माध्यमिक विद्यालय काठमाडौंमा कक्षा १० मा अध्ययनरत बिद्यार्थी हुन।)

प्रतिक्रिया दिनुहोस्