Logo

उपत्यकामा २३ सहित थप २ सय ५५ जनामा संक्रमण



कखरा संवाददाता


२४ असार, काठमाडौं । नेपालमा थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये काठमाडौंका १६ र ललितपुरका ७ गरी काठमाडौं उपत्यकामा २३ जना छन् ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

सरकारले स्थानीय तहहरूबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खबर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठाउन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्