Logo

लकडाउनमा इन्टरनेट खपत ३५ प्रतिशत बढ्यो



कखरा संवाददाता


२४ असार, काठमाडौं । सरकारले कोभिड–१९ न्यूनीकरणका लागि गरेको लकडाउनको समयमा इन्टरनेट खपत बढेको छ ।

लकडाउन अगाडिको १० दिनको तुलनामा लकडाउनपछिको १० दिनयता ३५ प्रतिशतसम्म इन्टरनेट व्याण्डविथ खपत बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लकडाउन अगाडि व्याण्डविथ खपतमा उतारचढाव आए पनि अहिले भने सबैजसो समयमा उत्तिकै मात्रामा इन्टरनेट खपत भएको छ । बेलुका ८ देखि ९ बजेको समय इन्टरनेट खपतका दृष्टिले उच्च विन्दुमा छ ।

प्राधिकरणका निर्देशक विजयकुमार रोयले पनि लकडाउनअघिका १० दिनको तुलनामा लकडाउनपछिका १० दिनमै इन्टरनेटको प्रयोग ३५ प्रतिशतसम्म बढेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत पनि १० प्रतिशत हाराहारीमा बढेको जानकारी दिए ।

लकडाउनले इन्टरनेटको मागमा पनि स्थिरता ल्याएको रोयले बताए । पहिले दिनभरीमा कुनै समय अत्याधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो । तर, अहिले त्यस्तो उतारचढाव देखिएको नदेखिएको उनले बताए । साँझ ८ देखि १० बजेको समयमा अहिले पनि इन्टरनेटको खपत उच्च विन्दुमा पुग्ने गरेको उनले बताएका छन् ।

प्रविधि पत्रकार मञ्चले गरेको वेबिनारमा नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीतजन थिङले मुलुकभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र वाह्य खपत २५ प्रतिशत बढेको बताएका छन् । उनले लकडाउन सुरु हुनुअघि १४८६ गिगाबाइट प्रतिसेकेण्ड खपत हुँदै आएको इन्टरनेट लकडाउनपछि १९७१ गिगाबाइट प्रतिसेकेण्ड पुगेको जानकारी दिए ।

लकडाउनले नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाउनेको संख्या बढेको उनले जानकारी दिए । लुडोजस्ता मोबाइल गेमिङमा पनि इन्टरनेटको खपत दोब्बर बढेको उनले जानकारी दिए । गुगल, फेसबूक र अमेजनमा पनि इन्टरनेटको प्रयोग उच्च दरले बढेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्