Logo

मलाई निष्काशन गर्ने निर्णय अवैधानिक छ, म अदालत जान्छु: सरिता गिरी



कखरा संवाददाता


२४ असार, काठमाडौं । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको सांसद सरिता गिरीले दाबी गरेकी छन् ।

पार्टी पदाधिकारी बैठकको निर्णयले उनलाई सांसद र पार्टी सदस्यबाट अनुशासनको कारबाही गरेर हटाएको निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध अदालत जाने उनले बताइन् ।

देश सञ्चारसँग प्रतिक्रिया दिँदै गिरीले भनिन्, ‘मलाई कारबाही गर्ने निर्णय अवैधानिक छ । म छिट्टै न्यायका लागि अदालत जान्छु ।’ गिरीले संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको दाबी गरिन् ।

पार्टीको निर्देशन विपरीत लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन् ।

समाजवादीले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय छानबिन कार्यदलले मंगलबार नै कारबाही गर्न सिफारिस गरेको थियो ।

उनले संसद र पार्टीमा मधेसी जनताको आवाज रोक्नका लागि आफूमाथि कारबाही गरिएको आरोप लगाइन् । उनले भनिन्, ‘संसदमा मधेसको कुरा नगर्ने व्यक्तिलाई ल्याउन मलाई कारबाही गरिएको हो। मधेसको भोटमा स्थापित पार्टीको पदाधिकारीमा गैर मधेसी भएका कारण निर्णय गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्