Logo

८ सय ६७ जना नेपाली स्वदेश आउँदै



कखरा संवाददाता


२१ असार, काठमाडौं । कतार, युएइ र कुवेतबाट गरी आइतबार ८ सय ६७ जना नेपाली स्वदेश आउँदैछन् । कतारको दोहाबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको दुईवटा उडान मार्फत १५० जनाका दरले तीन सय जना नेपाली आउँदैछन् ।

युएइको दुवइबाट नेपाल एयरलाइन्सको विमानबाट २६० जना आउदैछन् । आबुधावीबाट हिमालय एयरलाइन्सको उडानमार्फत १५२ जना र कुवेतबाट जजिरा एयरमार्फत १५५ जना आउन लागेका नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएको छ । यसैबीच कोरोना भाइरसको महामारीका कारण हालसम्म विभिन्न देशबाट १८ हजार भन्दा धेरै नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

शनिबार साँझसम्ममा विभिन्न २१ वटा देशबाट १८ हजार १ सय ९७ जना स्वदेश आएका कोरोना नियन्त्रण रोकथाम तथा व्यवस्थापन समितिले जनाएको छ । यसरी आउनेमा कुवेतबाट सबैभन्दा धेरै छन् । कुवेतबाट तीन हजार ८ सय ३९ नेपाली स्वदेश आएका छन् । युएईबाट तीन हजार १ सय ९२ र साउदी अरबबाट दुई हजार ५ सय ४९ जना स्वदेश फर्किएका छन् ।

बाहिरबाट आउने नेपालीमा बागमती प्रदेशका सबैभन्दा बढी अर्थात पाँच हजार ८८०, प्रदेश नम्बर १ का तीन हजार ५०३, प्रदेश नम्बर ५ का दुई हजार ८ सय ९१, प्रदेश २ का दुई हजार ८ सय १५, गण्डकी प्रदेशका दुई हजार २ सय ७८, सुदुर पश्चिमका ४ सय ४३ र कर्णाली प्रदेशका ३ सय ९५ रहेका छन् समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्