Logo

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल



कखरा संवाददाता


२० असार, काठमाडौं । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।

विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ । सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।

विश्व बैङ्कले विभिन्न चार वर्गमा मुलुकको वर्गीकरण गर्छ । पछिल्लो पटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ । यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिँदै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्