Logo

सिड्नीमा लुटेरा लखेटेकी पवित्राको चर्चा



कखरा संवाददाता


१८ असार, काठमाडौं । सिड्नीको केन्द्रबाट करिब १८ किलोमिटर पश्चिममा नेपालीहरूको बाक्लो बस्ती रहेको ठाउँ अबर्नमा गत सोमबार साँझ नेपाली युवती पवित्रा कार्कीले पसल लुट्न आएको एक लुटेरालाई लखेटिन् । उनको यो साहसिक कार्यको अस्ट्रेलियाका स्थानीय मिडियाले समेत चर्चा गरे ।

रौतहट चन्द्रनिगाहपुरकी स्थायी बासिन्दा २३ वर्षीया पवित्रा कार्कीले त्यो साँझको घटनाको फेहरिस्त सुनाउँदै भनिन्, ‘मुख छोपेको केटा सरासर मेरो पसलभित्र पस्यो । मैले सोंचे मेरो नियमित ग्राहक होला, ऊ कुनै ड्रिङस किन्न आयो होला । तर, ऊ सिधै मेरो अगाडितिर सुइँसुइँ आयो र भन्यो ‘गिभ मी मनी !’ तर मैले बुझिनँ । ग्राहकले त आएर समान माग्नु पर्ने हो, उसले पैसा मागिरहेको छ ।’

उनले मनमनै सोचिन् । ‘सामान भएको ठाउँतिर जानुपर्ने हो तर ऊ त मेरो काउन्टरतिर पो आउन थाल्यो । त्यसपछि मेरो दिमागमा लाग्यो कि यो पक्कै चोर हो ।’

‘अनि मैले रोक्ने प्रयास गर्दा हातपात भयो । फेरि उसले ‘गिभ मि मनी’ भन्दै मेरो काउन्टरबाट पैसा निकाल्न खोज्यो । त्यसपछि मैले आफूछेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखें । सोही चक्कु समातेपछि लुटेरा हच्कियो । अनि त्यही चक्कु लिएर लुटेरालाई लखेटें । त्यसपछि लुटेरा कता भाग्यो, मलाई थाहा भएन ।’

‘अहिले सम्झँदा डर लागिरहेको छ, कसरी आँट आयो थाहै भएन,’ पवित्राले भनिन् । पसल बन्द गर्ने बेलामा आफूले दिदीलाई कुरेर बसेका बेला घटना घटेको उनले बताइन् ।

‘पसलमा तरकारीको बक्स काट्न प्रयोग हुने चक्कु काउन्टर छेउमै रहेछ, लुटेराले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँट आयो खोइ, चक्कु लिएर जाइलागेँ’ उनले भनिन् ।

सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्तिगत रिपोर्ट तथा सिसिटिभी फुटेज लगेर लुटेरा पत्ता लगाउन अनुसन्धान गरिरहेको छ ।

सन् २०१७ मा अष्ट्रेलियामा आइपुगेकी पवित्रा दिदीसँग अवर्नमा बसोबास गर्दै आएकी छिन् । अबर्नमा रहेको क्याटमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा सोमबार घटना घटेपछि पबित्रालाई अहिले सुरक्षाको चिन्ताले भने सताएको छ । प्रहरीले पनि केही दिन पसलमा एक्लै नबस्न सुझाब दिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्