Logo

रुकुम घटनाको विरोधमा राजधानीमा मसाल जुलुस



कखरा संवाददाता


१४ असार, काठमाडौं । रुकुमको पश्चिममा नवराज विकसहित छ जना युवकहरुको हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै शनिबार राजधानीका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ ।

शनिबार साँझ एउटा समूहले बांगेमुढादेखि असनसम्म मसाल जुलुस निकालेको थियो भने अर्को समूहले इन्द्रचोकबाट मसाल जुलुस निकालेको थियो । प्रहरीले मसाल जुलुसलाई नियन्त्रणमा लिन लाठी प्रहार गरेको थियो ।

बांगेमुढा र इन्द्रचोक दुवैतर्फबाट निस्केको जुलुस रत्नपार्कको शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। त्यस्तै, अर्को मसाल जुलुस पनि शान्तिबाटिकासम्म आएको थियो ।

उनीहरुले ‘नालायक सरकार मुर्दाबाद’, ‘जातीय विभेदको अन्त्य गर’, ‘नालायक गृहमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए। जुलुसमा सहभागी हुने क्रममा राजु सुनुवार घाइते भएका छन् । राजधानीका केही दिनयता रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै विभिन्न समूहहरुले विभिन्न स्वरुपका प्रदर्शनहरु गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्