Logo

बडिगाड गाउँपालिकाको बजेट ५३ करोड २ लाख:पत्रकारलाई रोक नलगाईएको प्रष्टोक्ति



कखरा संवाददाता


१२ असार, बागलुङ । बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि ५३ करोड २ लाख ६९ हजार ७ सय ४८ रुपैयाको बजेट सार्वजनिक गरेको छ।

पालिकाको बुधबार सम्पन्न ७औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च तर्फ ८ करोड ७५ लाख, सशर्त कार्यक्रम तर्फ २८ करोड ५२ लाख तथा पुँजिगत खर्च तर्फ १५ करोड ७५ लाख ६९ हजार ७ सय ४८ रुपैया विनियोजन भएको हो।

गाउँपालिकाद्वरा शिक्षामा ५० लाख, स्वास्थ्यमा ५० लाख तथा पशु विकास कार्यक्रममा ५० लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै खर्वाङ दगातुन्डाडा मोटरवाटोको लागि ७० लाख, जोगिवगर जलजला रणसिंहकिटेनी सडकको लागि ८० लाख, भिमगिठे दर्लिङ गंगरे मोटरवाटोको लागि ५० लाख रकम विनियोजन गरिएको छ।

९ ओटा वडामा वडा कार्यालय भवन निर्माणको लागि २० लाखका दरले १ करोड ८० लाख र गाउँपालिका भवन निर्माणको लागि २ करोड वजेट विनियोजन भएको छ।

पालिकाको निति तथा कार्यक्रममा दैवि प्रकोप तथा विपद्मा परेका तथा भुमिहिन सुकुम्बासीहरुलाई उचित व्यवस्थापन गर्ने, एक घर दश फलफुल विरुवा कार्यक्रमलाई निरन्तरता दिने, साना व्यवसायीक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम संचालन गर्ने, सहकारीहरुलाई प्रवद्र्धन गर्ने, पर्यटकीय क्षेत्रहरुको विकास गर्ने, सामुदायीक विद्यालयको शिक्षक कर्मचारीहरुको दरवन्दि मिलान गर्ने, विद्यालय समायोजन तथा एकिकरण गर्ने, सरकारी तथा गैरसरकारी संघ संस्थाले संचालन गर्ने कार्यक्रम गाउँपालिकामा पेश गर्ने, गाउँपालिकाका स्वास्थ्य संस्थामा फार्मेसि संचालन गर्ने, खोप केन्द्रलाई व्यवस्थीत गर्ने, एकिकृत महिला तथा प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ लगाएतका महामारी रोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन कार्यक्रम संचालन गर्ने, मगरभाषा कक्षा सञ्चालन गर्ने, महिला उद्यमी तथा महिला सहकारी संस्थाको प्रवद्र्धन गर्ने, रोजगार सेवा केन्द्रको सुदृढिकरण गर्ने, सवै वडामा केन्द्रिय विद्युत प्रशारण लाइनको विस्तार तथा जडानको लागि आवश्यक प्रयत्न गर्ने लगायतका लोकप्रिय र सबल पक्ष समेटिएका छ्न।

त्यस्तै राजश्व संकलन कार्यलाई प्रभावकारी बनाउन राजश्व शाखाको गठन गर्ने, गाउँकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयमा गुनासो सुनुवाइको व्यवस्था गर्ने, नागरिक वडा पत्रको व्यवस्था गर्ने, भ्रष्टाचार सुन्य सहनसिलताको निति अवलम्बन गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाले आन्तरिक राजश्ववाट १ करोड २५ लाख उठाउने लक्ष्य लिएको छ।

यस्तै बडिगाड गाउँपालिले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा पत्रकारलाई प्रवेशमा रोक लगाएको भन्ने बिषयमा अस्प्रटता भएको पालिका निकट श्रोतले बताएको छ । बुधबार पालिकाको नीति तथा कार्यक्रम सार्वजनिकरण कार्यक्रममा पालिकाभित्र रहेका पत्रकारलाई सूचना अधिकारीले प्रवेशमा रोक लगाएकाेे भन्ने बिषयमा गाउँपालिका सम्बद्ध पक्षले नीति तथा कार्यक्रम सार्वजनिकरण गर्दा पत्रकारलाई प्रवेश रोक लगाउने कुनै नीति नभएको बताएको छ ।

देशभर फैलिरहेको कोभिड-१९ को संभावित जोखिम र प्रभावलाई मध्यनजर गर्दै सरकारको निर्देशन बमोजिमनै अनावश्यक भिडभाड नगर्ने र नगराउनेतर्फ गाउँपालिका सधैं सजग र क्रियाशिल रहेको तर पत्रकारलाई सुचनानै नदिने र प्रबेशनै रोक लगाउने मनायस नभएको पालिका सम्बन्ध श्रोतले बताएको छ ।

पालिकाका गतिविधि र क्रियाकलाप पारदर्शी रहेको र सूचना लुकाउने कुरामा सत्यता नभएको बताईएको छ । पालिकाका प्रक्रिया, कार्यसम्पादन र गतिबिधी नितिसङ्गत बिधिलेनै अघि बढेको बताउँदै जनमानसमा कुनै अस्प्रस्टता भए तिनलाई चिर्दै अघि बढिने पालिका सम्बद्द श्रोतले बताएको छ।

पछिल्लो समयमा बाग्लुङमा समेत कोरोनाको संक्रमण भेटिएको भन्दै भिडभाड कम गर्ने नीति लिईएपनि सरकारी संचारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक नलगाईएको र नीति तथा कार्यक्रमलाई ईमेल मार्फत समेत क्रियाशिल पत्रकारलाई पठाईएको पनि श्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्