Logo

अब फेयर एण्ड लभ्लीको विज्ञापनमा गोरोपनाबारे उल्लेख नगरिने



कखरा संवाददाता


११ असार, एजेन्सी । एफएमसीजी (फास्ट मुभिङ कन्ज्यूमर गुड्स) कम्पनी युनिलिभरले गोरोपनलाई कथित रुपमा महत्व दिने आफ्नो फेस क्रिमको मार्केटिङको तरिका परिवर्तन गर्ने निर्णय गरेको छ ।

बिहिबार युनिलिभरले यस्तो घोषणा गरेको हो । कम्पनीले एक बयान जारी गर्दै अबको केहि हप्तामा ‘फेयर एण्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गर्ने जानकारी दिएको छ । यतिमात्रै होइन, कम्पनीले आफ्नो उत्पादनमा गोरो वा गोरोपनजस्ता शब्दको प्रयोगसमेत नगर्ने बताएको छ ।

कम्पनीका अनुसार छालाको हेरविचार गर्ने क्षेत्रमा सुन्दरताबारे मानिसहरुको दृष्टिकोण परिवर्तन भइरहेको छ र यसमा सबै तप्कालाई समावेश गरिनेछ । कम्पनीको ब्यूटी एण्ड पर्सनल केयर डिभिजनका प्रेसिडेन्ट सन्नी जैनले भने, ‘आफ्नो स्किन केयर ब्रान्डको ग्लोबल पोर्टफोलियोका विषयमा हामी पूर्ण रुपमा समर्पित छौं । यसले सबै रङ र प्रकारको स्किन टोन्सलाई ध्यानमा राख्नेछ । हामीलाई लाग्छ कि फेयर, ह्वाइट र लाइजजस्तो शब्दले सुन्दरताको एकतर्फी दृष्टिकोणलाई बयान गर्छ । हामीलाई लाग्दैन कि यो सही हो र हामी यसमाथि ध्यान दिन चाहन्छौं ।’

बजारमा अत्यधिक मागः
फेयर एण्ड लभ्ली ब्रान्ड भारतबाहेक बंगलादेश, इन्डोनेशिया, थाइल्याण्ड, पाकिस्तान र एशियाका अन्य देशमा पनि बेचिन्छ ।

केहि दिनेदखि सोसल मिडियामा संसारभरीका यस्ता उत्पादनविरुद्ध असन्तुष्टिको माहौल देखिएको थियो ।समाजमा गोरोपनको प्रेमका कारण दक्षिण एशियाको बजारमा यस्ता उत्पादनका लागि बढ्दो माग छ । युनिलिभरको फेयर एण्ड लभ्ली ब्रान्डको दक्षिण एशियाको बजारमा ठूलै दबदबा छ । यद्यपि, लोरियल र प्रोक्टर एण्ड ग्याम्बल पनि यस्ता उत्पादन बनाउँछन् ।

अमेरिकामा जर्ज फ्लोयडको मृत्युपछि सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानको क्रममा केहि हप्तादेखि यी कम्पनीले यस्ता उत्पादनमार्फत् ‘रङ्गभेद’ लाई प्रोत्साहन दिएको भन्दै कडा आलोचना खेप्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्