Logo

सूचना अधिकारीको दम्भ : नीति तथा कार्यक्रममा पत्रकारलाई रोक !



कखरा संवाददाता


११ असार, बागलुङ । बडिगाड गाउँपालिकाका सूचना अधिकारी थम्मन रेश्मीले पालिकाको ७ औं नीति तथा कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाएको आरोप लागेको छ। बुधबार पालिकाको नीति तथा कार्यक्रममा पालिकाभित्र रहेका पत्रकारलाई सूचना अधिकारी रेश्मीले प्रवेशमा रोक लगाएकाेे आरोप लागेको हाे ।

पालिकाको नीति तथा कार्यक्रममा पत्रकारले फोन गरेपछि पत्रकारलाई नीति तथा कार्यक्रममा प्रवेश नदिइएकाे त्यहाँ उपस्थित एक पत्रकारले जानकारी दिए । पालिकाको सूचना जनतामा पुर्याउने जिम्मेवारी पाएका सूचना अधिकारी रेश्मीले पत्रकारलाई सूचना समेत नदिँदा उनको तीव्र आलोचना भएको छ ।

पालिकामा ल्याइएको स्वास्थ्य सामग्री टेन्डर प्रक्रियाबाट खरिद गर्नुपर्ने नियम भएपनि सूचना अधिकारी रेश्मीले बिना प्रतिस्पर्धा स्वास्थ्य सामग्री खरिद गरेको आरोप लागेको छ। पालिकाभित्र कुनै पनि सामग्री खरिद गर्दा टेन्डर प्रक्रियाबाट ल्याउनु पर्ने भएपनि उनले आफूखुसी सामान खरिद गरेको कार्यपालिकाका एक सदस्यले जानकारी दिए । गाउँपालिकाले स्वास्थ्य सामग्री किनेको बिलसमेत सार्वजनिक गरेको छैन ।

यस सम्बन्धमा गाउँपालिका सम्बद्ध पक्षले भने नीति तथा कार्यक्रम सार्वजनिकरण गर्दा पत्रकारलाई प्रवेश रोक लगाउने कुनै नीति नभएको बताएको छ । देशभर फैलिरहेको कोभिड-१९ को संभावित जोखिम र प्रभावलाई मध्यनजर गर्दै सरकारको निर्देशन बमोजिमनै अनावश्यक भिडभाड नगर्ने र नगराउनेतर्फ गाउँपालिका सधैं सजग र क्रियाशिल रहेको तर पत्रकारलाई सुचनानै नदिने र प्रबेशनै रोक लगाउने मनायस नभएको पालिका सम्बन्ध श्रोतले बताएको छ ।

पालिकाका गतिविधि र क्रियाकलाप पारदर्शी रहेको र सूचना लुकाउने कुरामा सत्यता नभएको उक्त पक्षको तर्क छ । पालिकाका प्रक्रिया, कार्यसम्पादन र गतिबिधी नितिसङ्गत बिधिलेनै अघि बढेको बताउँदै जनमानसमा कुनै अस्प्रस्टता भए तिनलाई चिर्दै अघि बढिने गाउँपालिका सम्बद्द श्रोतले बताएको छ। पछिल्लो समयमा बाग्लुङमा समेत कोरोनाको संक्रमण भेटिएको भन्दै भिडभाड कम गर्ने नीति लिईएपनि सरकारी संचारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक नलगाईएको र नीति तथा कार्यक्रमलाई ईमेल मार्फत समेत क्रियाशिल पत्रकारलाई पठाईएको गाउँपालिका श्रोतले बताएको छ।

(प्रकाशित समाचारमा गाउँपालिका सम्बद्द पक्षको भनाइ पछि थप गरिएको हो । गाउँपालिकाको नीति सञ्चारकर्मी एवं पत्रकारलाई सूचनाबाट बञ्चित गराउनु नरहेको गाउँपालिका निकट श्रोतद्वारा स्पस्ट पारिएकोले सच्याइएको छ । सम्पादक)

प्रतिक्रिया दिनुहोस्