Logo

चालू वर्षमा सरकारले १ खर्ब ९१ अर्बको आन्तरिक ऋण उठायो



कखरा संवाददाता


१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । यसअघि १ खर्ब ७५ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले मंगलबार थप १५ अर्ब बढीको आन्तरिक ऋण उठाएको नेपाल राष्ट्र अनुसन्धान विभाग प्रमुख डा. गुणाकरण भट्टले जानकारी गराए ।

सरकारले चालू आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋणको लक्ष्य राखेकोमा अर्थ मन्त्रालयले लक्ष्य संशोधन गर्दै १ खर्ब ९३ अर्ब रुपैयाँ उठाउने जनाएको थियो । जसमध्ये १ खर्ब ९१ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको भट्टले जानकारी गराए । यस हिसाबले सरकारले लक्ष्यको ९८ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ ।

लक्ष्यअनुसार उठाउन बाँकी २ अर्ब रुपैयाँ पनि प्रकियामा रहेको भट्टले जानकारी गराए । ‘सरकारको संशोधित लक्ष्य १ खर्ब ९३ अर्बको आन्तरिक ऋण उठाउने छ जसमध्ये १ खर्ब ९१ अर्ब रुपैयाँको उठेको छ’ भट्टले भने ‘२ अर्ब रुपैयाँको लागि नागरिक वचतपत्र मात्र बिक्रीको लागि खुला गरिएको छ ।’

पछिल्लो १ साताको अवधिमा सरकारले वैदेशिक अनुदान पनि ६ अर्ब २३ करोड रुपैयाँ वृद्धि गरेको छ । जसमध्ये असार २ गते १ अर्ब १९ करोडको र असार ६ गते ४ अर्ब ९४ करवड रुपैयाँको वैदेशिक अनुदान प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

आन्तरिक ऋणमध्ये वैदेशिक रोजगार बचतपत्र बिक्रीमार्फत ३ करोड, ट्रेजरी बिलमार्फत ९० अर्ब बढीको र विकास ऋणमार्फत १ खर्ब बढीको रकम उठाएको छ । सरकारले लकडाउनपछि मात्रै १ खर्ब ४० अखर्ब रुपैयाँको आन्तरकि ऋण उठाएको छ । नियमित प्रकियाअनुसार नै ऋण उठाइएको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्