Logo

चिनियाँ कम्युनिष्ट पार्टीले नेकपालाई प्रशिक्षण दिएकोमा काँग्रेसको आपत्ति



कखरा संवाददाता


१० असार, काठमाडौं । काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस सांसद डा मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ट पार्टीले नेकपालाई प्रशिक्षण दिएकोप्रति गम्भीर आपत्ति जनाएका हु्न ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै उनले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराए । पछिल्लो समय चिनियाँ कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न भएको दावी गर्दै उनले त्यसतर्फ नेकपाको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, ‘छिमेकी राष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध विशिष्ठ रहेको छ । हाम्रो र छिमेकका राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सीमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल र नेताहरु विगतमा आलोचित रहे । आगतमा उत्तरको छिमेकको दलले नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।’

उनले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ समेत मागे ।

प्रतिक्रिया दिनुहोस्