Logo

बार्सिलोनाको गोल वर्षा



कखरा संवाददाता


३२ जेठ, एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः सुरु भएको छ । आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले मायोर्कामाथि ४–० को सहज जीत निकालेको छ ।

खेलको दोस्रो मिनेटमा नै आर्टुरो भिडालको गोलको मद्दतले बार्साले अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा मार्टिन ब्राथवेटले बार्साको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा जोर्डी आल्बाले बार्सिलोनाको अग्रता फराकिलो पारे भने खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले चौथो गोल थपे । यो सिजन लिगमा उनको यो २० औँ गोल हो । शनिबारको खेलमा घाइते हुँदै जनवरीको सुरुवातबाट मैदानबाहिर रहेका लुइस सुवारेजले पनि पुनरागमन गरेका थिए ।

जीतसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ले आइतबार इबारको सामना गर्दै यो अग्रतालाई घटाउने प्रयास गर्नेछ । २८ खेलबाट बार्साको ६१ अंक रहेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक रहेको छ ।

शनिबार भएका अन्य खेलमा एस्पानियोलले आलाभेसलाई २–० गोलले हरायो भने भिल्लेरियालले सेल्टाभियोलाई १–० ले पराजित गर्यो । उता, रियल भायाडोलिडले लेगानेसमाथि २–१ को जीत हासिल गर्न सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस्