Logo

ज्यानै लिने क्वारेन्टिन



कखरा संवाददाता


३१ जेठ, सुर्खेत । कोरोनाबाट जोगिन उनी गाउँ पुगे । बाहिरबाट गएका कारण उनलाई क्वारेन्टिनमा राखियो ।

आफूमा संक्रमण भए पनि क्वारेन्टिनमा उपचार पाउने उनको आस थियो । तर, उनले न उपचार पाए न त राम्रो खानपान नै । भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टिनमै ज्यान गयो ।

नगरपालिकाले वडा नम्बर ८ तलिउमस्थित एक स्कुलमा क्वारेन्टिन बनाएको छ । आफन्तलाई संक्रमण हुने त्रास र आफ्नो ज्यान जोगाउन रामसिंह त्यहाँ बस्न सहमत भएका थिए । तर, जेठ २३ गते क्वारन्टिनमै उनको ज्यान गयो । बर्दियाबाट फर्किंदै गरेका उनी घर पुग्नै पाएनन् ।

कर्णालीमा क्वारन्टिनको व्यवस्थापन नहुँदा त्यहाँ बसेका व्यक्तिको ज्यानै जान थालेको छ। रोगबाट जोगाउन र सुरक्षित राख्न बनाइएका अधिकांश क्वारेन्टिनले नै ‘मान्छे खान’ अर्थात् ज्यान लिन थालेका हुन् ।

कालिकोटमा पनि क्वारन्टिनबाट बिहीबार मात्रै घर पठाइएका नरहरिनाथ गाउँपालिका–१ का काले विष्टको बाटोमै ज्यान गएको छ । उनी शुक्रबार बाटोमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए ।

क्वारन्टिनबाट उचित व्यवस्थान नगरी घर पठाइँदा उनले आँगन टेक्नै पाएनन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्