Logo

मन्त्रिपरिषद्को निर्णयः शर्तसहित रेस्टुरेन्ट खोल्न पाइने, पैदल हिड्न नरोक्ने



कखरा संवाददाता


२९ जेठ, काठमाडौं । सरकारले रेस्टुरेन्टहरु खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निश्चित सर्तहरु राखेर रेस्टुरेन्टहरु खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यसको औपचारिक जानकारी दिए ।

प्रवक्ता खतिवडाका अनुसार रेस्टुरेन्ट खोल्न पाइने भएपनि त्यहाँ ग्राहकले भिडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षितरुपमा प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खान सक्ने सरकारको निर्णय छ ।

यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ ।

यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रोक लगाइएको छ । चार पाङ्ग्रे सवारी साधनमा भने चालक बाहेक थप २ जना मात्र सवारी गर्न पाउनेछन् । यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्