Logo

कुवेतबाट ३०० जना कामदार नेपाल फर्कंदै



कखरा संवाददाता


२९ जेठ, काठमाडौं । कुवेतबाट ३०० जना कामदार बिहीबार काठमाडौं फर्किने भएका छन् । कुवेत सरकारले जजिरा एअरलाइन्सको जहाजमा कुवेतमा अलपत्र परेका ३०० जना कामदारलाई काठमाडौं ल्याइदिन लागेको हो ।

कुवेतबाट फर्कन लागेका कामदारमा अधिकांश महिला छन् । कुवेत सरकारले आममाफी दिएका र आश्रय क्याम्पमा बसिरहेकाहरूलाई नेपाल ल्याइदिन लागेको हो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जजिरा एअरलाइन्सको जहाजलाई कुवेतबाट काठमाडौं उडानको अनुमति दिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार २९ जेठको बिहान ११ः३० बजे र १ः३० बजे गरी दुईवटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

कुवेत सरकारले २६ देखि ३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो । त्यसबेला आवेदन गरेका करीब दुई हजार ९०० जना नेपाली कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले बताएको छ ।

कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैधरूपमा बसिरहेका र भिसा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्यादिन लागेको हो । कुवेत सरकारले यसअघि नै उनीहरूलाई नेपाल ल्याइदिन प्रस्ताव गरेको भए पनि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन भएको कारण सरकारले अनुमति दिएको थिएन ।

कुवेतबाट फर्किएका नेपालीहरूलाई नेपाली सेनाले विमानस्थलबाट काठमाडौंमा प्रदेशअनुसार तोकिएको होल्डिङ सेन्टरमा लगेर प्रदेश सरकारले तयार गरेको क्वारेन्टाइनलाई जिम्मा लगाउने छ । उनीहरू कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै आफ्नो घर जान पाउनेछन् ।

यसअघि म्यानमार २६ जना र यूएई १६८ जनालाई काठमाडौं ल्याइदिएको थियो । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेसँगै विदेशमा भएका नेपालीहरूलाई त्यहाँको सरकारले नै काठमाडौं ल्याइदिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्